२८ जना रेडियोकर्मीलाई फेलोसिप प्रदान, कुन प्रदेशबाट कसले पाए ?

काठमाडौं, २५ असोज । मानसिक स्वास्थ्यका विषयमा देशभरका २८ जना रेडियोकर्मीलाई फेलोसिप (लेखनवृत्ति) प्रदान गरिएको छ । १५ हजार राशीको पुरस्कार भूगोल, भाषा र दक्षताका आधारमा प्रदान गरिएको हो ।

यूनिसेफ नेपाल, कान्ति बाल अस्पताल, सामुदायिक रेडियो प्रसारक संघ, सीआईएन र टीपीओ नेपालको सहकार्यमा भएको तालिमको समापन गर्दै २८ जना रेडियोकर्मीलाई फेलोसिप पनि प्रदान गरिएको हो ।

देशभरका सामुदायिक रेडियोकर्मीका लागि भएको मानसिक तथा मनोवैज्ञानिक स्वास्थ्यसम्बन्धी तालिममा सहभागी भएका ३२० जनामध्येबाट २८ जना छनोट गरिएको हो । कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य एवं प्रवक्ता मीनबहादुर शाहीले मानसिक स्वास्थ्यसम्बन्धी सञ्चारलाई प्राथमिकता दिएर योजनाहरु बनाउने प्रतिवद्धता व्यक्त गरे ।

युनिसेफका स्वास्थ्य शाखाका प्रमुख बुद्धि सेटुवानले मानसिक स्वास्थ्यसम्बन्धी प्राविधिक ज्ञान लिएका रेडियोकर्मीहरुले जनचेतनाका लागि महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । कान्ति बाल अस्पतालका बाल मनोचिकित्सक अरुण कुँवरले सामुदायिक रेडियोहरुले मनोपरामर्शका लागि महत्वपूर्ण काम गर्न सक्ने र मानसिक स्वास्थ्यका लागि दिनदिनै जानकारी दिन सक्ने बताएका छन् ।

१३ वटा समूहमा विभाजन गरेर गरिएको भर्चुअल तालिममा सहभागी देशैभरका सामुदायिक रेडियोहरुबाट मानसिक स्वास्थ्यका विषयमा कार्यक्रम र सूचना प्रसारण गर्ने प्रतिवद्धता सहभागिहरुबाट आएको सीआईएनका प्रवन्धक दीपक आचार्यले जानकारी दिए ।

राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका प्रमुख कुञ्ज जोशीले रेडियोकर्मीका लागि मानसिक स्वास्थ्यसम्बन्धी यस्तो खालको तालिम पहिलो पटक भएको र आगामी दिनमा पनि यस्ता तालिम र रेडियोका कार्यक्रमका लागि सहकार्य गर्न सरकार तयार भएको बताए ।

सूचना तथा प्रसारण विभागका निर्देशक ईश्वरराज दाहालले सामुदायिक रेडियोनै जिल्लाहरुको प्रमुख सञ्चार माध्यम भएकाले ती रेडियोले मानसिक स्वास्थ्यलाई प्राथमिकता दिनुपर्ने बताए ।

यूनिसेफका विकासका लागि सञ्चार शाखाका प्रमुख सञ्जु भट्टराईले आगामी दिनमा सामुदायिक रेडियोसँग मानसिक स्वास्थ्य सम्बन्धि कार्यक्रमका लागि पनि साझेदारी गर्ने बताए ।

फेलोसिप पाउनेमा प्रदेश नं एक बाट भिजन एफएम ओखलढुंगाका पूर्ण प्रसाद न्यौपाने, रेडियो साथी झापाका ज्ञानेन्द्र निरौला, रेडियो मेन्छ्याम तेह्रथुमका इन्दिरा भट्टराई र रेडियो लालिगुँरास धनकुटाका बिदुर खवास रहेका छन् ।

त्यस्तै प्रदेश २ बाट रेडियो जानकीका बटुक झा, रेडियो गुञ्जनका उपेन्द्र गोले, रेडियो एकताका जनार्दन खत्री र रेडियो मिताकाय मुना खनाल छन् ।

बागमती प्रदेशबाट रेडियो सिन्धुका अस्मी स्याङ्तान, रेडियो महाभारतका बृुद्ध नेपाली, रेडियो रामेछापका अनिता थापा मगर र रेडियो चिम्टेश्वरी नुवाकोटका रामहरी न्यौंपानेले फेलोसिप प्राप्त गरेका छन् ।

गण्डकी प्रदेशबाट रेडियो स्याङ्जाका रमेश गोदार, रेडियो हिमचुलीका रमेश रामदान राई र रेडियो लमजुङका शान्ता कमली रहेका छन् । लुम्बीनी प्रदेशबाट रेडियो मदन पोखराका विजय कुमार गौंडेल, रेडियो मुक्तिका निरु थापा, रेडियो मालारानीका नविन केसी रहेका छन् ।

कर्णाली प्रदेशबाट रेडियो चँखेलीका हस्त चौंलागाई, रेडियो शारदाका प्रतिक शर्मा ईच्छुक, रेडियो कर्णाली आवाजका नवराज महतरा, बुलबुले एफएम सुर्खेतका कल्पना डेंगा मगर छन् ।

सुदुर पश्चिम प्रदेशबाट रेडियो सेभेन स्टार बैतडीका डम्बर बहादुर बोहोरा, रेडियो बार्जु बाजुराका नन्दा थापा, रेडियो टिकापुरका दुर्गा देवकोटा, रेडियो खलंगा जाजरकोटका टिका बिसी र नयाँ नेपाल एफएम दार्चुलाका सन्तोस कोट्टारीले फेलोसिप पाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here