बुद्ध एयर २४ औं वर्षमा प्रवेश

काठमाडौं, २५ असोज । बुद्ध एयर आज २३ औं वर्ष पूरा गरेको छ । सन् १९९७ आजकै दिन अर्थात् ११ अक्टोवरका दिन नेपाली आकाशमा बुद्ध एयरले पहिलो उडान गरेको थियो ।

यसले उडानकै शुरुवातमा अमेरिकाबाट ब्राण्ड न्यू जहाज बीचक्राफ्ट १९०० डी भित्र्याएको थियो । आज २३ वर्ष पूरा गर्दा बुद्ध एयरसँग १३ जहाज, १०० कर्मचारी तथा लाखौं देशीविदेशी यात्रु जोडिन आइपुगेका छन् ।

बुद्ध एयरका प्रवन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतका अनुसार ‘विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस ‘कोभिड १९’ ले हरेक क्षेत्रलाई नराम्ररी प्रभावित गरेको छ । उनले भने, अझ नेपाली आकाशका लागि २४ मार्च ‘कालो दिन’ नै भयो ।

उडान ठप्प भए पनि जहाजको नियमित मर्मतसम्भार, रेखदेख तथा जनशक्ति सञ्चालन खर्च कटौती गर्न मिल्दैन । बन्दाबन्दी झण्डै ६ महिना रह्यो र आम्दानी पनि शून्य नै । यस्तो अवस्थामा पनि हामीले १ हजार १०० कर्मचारीलाई नियमित रूपमा तलव बाँड्यौं ।

हाम्रो पहिलो प्राथमिकता नै हरेक कर्मचारीको जीवनयापन सजिलो होस् र हाम्रा जहाजहरुको मर्मतसम्भार रेखदेखमा कुनै पनि अवरोध नआवोस भन्ने हो । हामीले यस दौरान १ जना कर्मचारी पनि कटौती नगरि आवश्यक सबै तालिमहरु सम्पन्न गर्यौं ।’

बुद्ध एयरले बन्दाबन्दीको केही दिनमै संक्रमणरहित र सुरक्षित हवाई सेवा कसरी सञ्चालन गर्ने भनेर ‘सुरक्षा निर्देशिका’ ल्याएको थियो ।

जुन नेपालमै कोभिडविरुद्धको पहिलो निर्देशिका थियो । कम्पनीले यसलाई अक्षरशः पालना गर्दै हरेक कर्मचारीलाई तालिम तथा सुरक्षा कवच पीपीई प्रदान गरेको थियो । यसले महिनौंसम्म काठमाडौंमा मात्र नभई हरेक गन्तव्यमा पूर्वाभ्यास गरेको थियो ।

२१ सेप्टेम्बरबाट उडान सञ्चालन हुने भएपछि बुद्ध एयरले भाडादरमा ठूलो कटौती गरेको छ । निम्नमध्य आय भएका नेपालीले पनि सुरक्षित तथा संक्रमणरहित यात्रा गरून् भन्ने एक मात्र उद्देश्य रहेको कम्पनीले विज्ञप्तिमा जनाएको छ ।

आर्थिक चलायमानका सूचकांकमा यात्रुहरुको ओहोरदोहोर पनि एक हो । आन्तरिक पर्यटनलाई पुनः गति दिन बुद्ध एयरले पर्यटकीय गन्तव्य पोखरा र चितवनलाई प्रचार प्रसार गर्दै यसको भगिनी संस्था बुद्ध होलिडेजले प्याकेजहरु पनि ल्याएको छ ।

विदेशीका लागि पनि यी दुई गन्तव्य निकै महत्वपूर्ण छन् । यसलाई सुरक्षित र संक्रमणरहित तरिकाले पर्यटकीय गतिविधि सञ्चालन गर्न सकेको खण्डमा विदेशी पर्यटकलाई पनि आत्मबल पुग्न जाने बुद्ध एयरले विश्वास लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here