सानिमा जनरलको आइपीओमा ८ लाख ८२ हजारभन्दा बढीको आवेदन

काठमाडौं, २५ असोज । सानिमा जनरल इन्स्योरेन्सको प्राथमिक साधरण सेयर (आइपीओ)मा कीर्तिमानी आवेदन परेको छ ।

विक्री प्रबन्धक एनआइसी एशिया क्यापिटलका अनुसार कम्पनीको आइपीओमा साँझ ५ बजेसम्म ८ लाख ८२ हजारभन्दा बढी आवेदकले १ करोड ८९ लाख ७५ हजार ६० कित्ता सेयर माग्दै आवेदन आवेदन दिएका छन् । अन्तिम तथ्यांक आइनसकेकाले आवेदकको संख्या अझै बढ्न सक्ने क्यापिटलले जनाएको छ ।

यो अहिलेसम्म खुलेका कुनैपनि आइपीओमा परेको सर्वाधिक आवेदन हो । यसअघि जनरल इन्स्योरेन्सको सबैभन्दा धेरै ७ लाख ९४ हजार बढीले आवेदन दिएका थिए ।

धितोपत्र निष्काशन तथा बाँडफाँड नियमावली अनुसार योग्य आवेदकले कम्तीमा १० कित्ता सेयर पाउने व्यवस्था अनुसार २ लाख ७३ हजार आवेदकले मात्र सेयर पाउनेछन् भने ६ लाखभन्दा बढी आवेदकको हात रित्तो हुने भएको छ ।

कम्पनीले बुधबारदेखि अंकित मूल्य १०० रुपैयाँमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आइपीओ विक्री खुला गरेको थियो ।

कम्पनीले निष्काशन गरेको ३० लाख कित्तामध्ये १ लाख ५० हजार कित्ता (५ प्रतिशत) सामूहिक लगानी कोष र १ लाख २० हजार कित्ता (४ प्रतिशत) कम्पनीका कर्मचारीका लागि छुटयाएको छ। बाँकी २७ लाख ३० हजार कित्ता सेयरका लागि सर्वसाधरणका लागि छुट्याइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here