आइएमईले स्थापना गर्‍यो ‘भरोसा कोष’

काठमाडौं, २९ असोज । कोरोना भाइरस महामारीबाट विदेशमा मृत्यु भएकाका आफन्तजनलाई सहयोग गर्ने उद्देश्यले आइएमईले ‘भरोसा कोश’ स्थापना गरेको छ ।

कोषमा २०७६ पुस १६ देखि २०७७ असोज ३० सम्म कोभिड–१९ का कारण विदेशमा मृत्यु भएका नेपाली श्रमिकका आफन्तहरूले आवश्यक विवरण सहित पानीपोखरी, काठमाडाको केन्द्रीय कार्यालयमा कात्तिक मसान्तसम्म आवेदन दिन सक्नेछन् । साथै, प्रादेशिक कार्यालयहरूबाट पनि आवेदन दिन सक्नेछन् ।

रितपूर्वक प्राप्त हुन आएका आवेदन उपर छलफल गरी आर्थिक सहायता उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

कति रकम सहयोग गर्ने भन्ने बारे कम्पनीले केही खुलाएको छैन ।आइएमई व्यवस्थापनले आफ्ना आधिकारिक वेभ-साइटहरू मार्फत आज एक आह्वान पत्र जारी गर्दै उक्त कुरा बताएको हो ।

‘हामी नेपालीले मनाउँदै आएका चाडपर्वहरूको यो मौसम पनि यसवर्ष हामीलाई फिक्का लागेको छ । त्यसैले पनि सधैँ चाडपर्वलाई लक्षित गरी ल्याइने सेवाग्राहीमुखी स्किम ल्याउन यसपटक हामी असमर्थ भयौँ । तथापि, चाडपर्वमा दिनुपर्ने विशेष सेवाको व्यवस्था सदा झैँ यसपटक पनि मिलाइएको छ ।

हामीले यस वर्ष पर्वलक्षित स्किममा खर्चिने स्रोत तथा साधनलाई कल्याणकारी कार्यमा लगाउने निर्णय गरेका छौँ ।

हाम्रो यो प्रयासबाट थोरै भएपनि प्रभावित परिवारलाई आड भरोसा मिल्नेमा हामी विश्वस्त छौँ,’ कम्पनीले जारी गरेको आह्वान-पत्रमा उल्लेख गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here