सक्रिय भएयता ३६७ जनाको ज्यान लिँदै नेपालबाट बाहिरियो मनसुन, १०० जना बेपत्ता

फाइलफोटो

काठमाडौं, १ कात्तिक । यो वर्षको मनसुन नेपालबाट बाहिरिएको छ । मौसम पूर्वानुमान महाशाखाको अनुसार गएको जेठ ३० गते नेपाल प्रवेश गरेको मनसुन चार महिनापछि बाहिरिएको हो ।

असोज १५ गते नै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशको पश्चिमका केही भू-भागबाट बाहिरिएको मनसुन नेपालभरिबाट भने शनिबार बाहिरिएको महाशाखाले जनाएको छ ।

मनसुन सक्रिय भएयता बाढी, पहिरो र चट्याङमा परेर (जेठ ३० गतेदेखि असोज ३०)सम्म ३ सय ६७ जनाले ज्यान गुमाएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांक अनुसार देशको विभिन्न ठाँउमा बाढी, पहिरोमा १०० जना बेपत्ता भएका छन्।

पहिरोबाट सवैभन्दा धेरै २ सय ९३ जनाको मृत्यु भएको छ। यस समयमा सिन्धुपाल्चोक जिल्लामा बढी मानिसको पहिरोमा परी ज्यान गएको छ।

विभिन्न स्थानमा पहिरोमा परी ६४ जना अझै बेपत्ता छन्। उनीहरुको नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय लगायत खोजी कार्य गरिरहेका छन् ।

पहिरोमै परी २२२ जना घाइते भएको प्राधिकरणको तथ्यांकमा उल्लेख गरिएको छ ।

मनसुन शुरु भएपछि बाढिबाट ३९ जनाको मृत्यु, ३६ जना बेपत्ता र ९ जना घाइते भएका छन् । त्यस्तै चट्याङबाट ३५ जनाको मृत्यु भएको छ भने ९४ जना घाइते भएका छन्।

यो वर्ष पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहिरहेकाले मनसुन बाहिरिन ढिलो भएको मौसमविद्ले बताएका छन् ।

सामान्यतया जुन १० तारिखमा पूर्वी नेपालबाट प्रवेश गर्ने मनसुन सेप्टेम्बर २३ मा बाहिरिनुपर्ने हो । तर पछिल्लो समय केही दिन ढिला गरी नेपाल प्रवेश गरेको मनसुन ढिला नै बाहिरिने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here