सरकार जिम्मेवारीबाट पन्छिएको भन्दै विप्लवद्धारा आन्दोलन घोषणा

काठमाडौं, ५ कात्तिक । कोरोना भाइरस संक्रमणको महामारीका बेला पीसीआर परीक्षण र उपचार शुल्क लिने निर्णय गरेर सरकार जिम्मेवारीबाट पन्छिएको जनाउँदै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आन्दोलन घोषणा गरेको छ ।

बुधवार एक प्रेस विज्ञप्ति जारी गर्दै विप्लवले कात्तिक १५ गते कोणसभा, कात्तिक १७ गते पर्चा वितरण र कात्तिक २० गते विरोधजुलुस गर्ने गरी आन्दोलन घोषणा गरेको हो ।

‘कोरोना महामारीको विश्वव्यापी प्रकोपले विश्व र नेपाली जनतामा पारेको भयावह अवस्थामा सरकारले राज्यको सम्पूर्ण शक्ति कोरोनाको नियन्त्रण र कोरोनाको प्रभावले आक्रान्त जनतालाई राहत पुर्‍याउन लाग्नुको सट्टा स्वास्थ्य परीक्षणजस्तो संवेदनशील र राज्यको न्यूनतम् दायित्वबाट समेत पन्छिने कार्य अत्यन्तै निकृष्ट र अमानवीय विषय हो ।

यसले सरकारको जनताप्रतिको चरम लापरबाही र असंवेदनशीलतालाई नै पुष्टि गरेको छ । हाम्रो पार्टी यतिबेला सरकारले सम्पूर्ण जनसमुदायलाई कोरोनाको निःशुल्क परीक्षण र उपचारको व्यवस्था गर्न विशेष माग गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ, ‘विभिन्न कठिनाइ झेल्दै कोरोना महामारीविरुद्ध निरन्तर खटिरहेका सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीलाई राज्यबाट प्रोत्साहन र सहयोग गर्नुपर्नेमा कतिपय अवस्थामा उल्टै प्रताडित हुनुपरेका घटनाहरूप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।

हाम्रो पार्टी कोरोना महामारीका क्रममा ज्यान जोखिममा राखी अग्रमोर्चामा खटिरहेका सम्पूर्ण सुरक्षाकर्मी, प्रहरी, स्वास्थ्यकर्मी, डाक्टर, नर्स, सफाइकर्मी लगायतलाई विशेष आर्थिक सुविधा, स्वास्थ्य र सामाजिक सुरक्षाको उचित व्यवस्था गर्न माग गर्दछ ।’

राज्य सरकार र सम्बन्धित निकायको संरक्षणमा स्वास्थ्य सङ्कटलाई समेत पैसा कमाउने, भ्रष्टाचार गर्ने र धन कुम्ल्याउने माध्यमका रूपमा दुरुपयोग भइरहेको दाबी समेत विज्ञप्तिमा गरिएको छ ।

‘हाम्रो पार्टी राष्ट्र र जनताको यस संकटको बेला जनताको स्वास्थ्यमा खेलबाड गर्ने तथा सत्ता र शक्तिको आडमा सम्पत्ति कुम्ल्याउने माध्यम नबनाउनसमेत सम्बन्धित पक्षलाई चेतावनी दिन चाहन्छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘उपरोक्त विषयहरूमा सबै पक्ष र जनसमुदायहरूले आआफ्नो स्थानबाट पहल गर्न र संघर्षमा सहभागिता र सहयोगका लागि हार्दिक अनुरोध गर्दछौं ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here