भारत हुँदै विदेश जाँदै हुनुहुन्छ ? अब नेपाली दूतावासको सिफारिस अनिवार्य

काठमाडौं, १ जेठ । भारतीय भूमि हुँदै तेस्रो मुलुकको भ्रमणमा निस्कने नेपाली नागरिकलाई भारतीय अध्यागमनले कडाई गरेको छ ।

भारतस्थित नेपाली दूतावासका अनुसार अब भारतीय भूमि भएर तेस्रो मुलुक प्रवेश गर्ने हरेक नागरिकले नेपाली दूतावासबाट सिफारिस पत्र (नो अब्जेक्सन लेटर) अनिवार्य बोक्नु पर्ने भएको छ ।

दूतावासका अनुसार एनओसी (नो अब्जेक्सन लेटर) प्राप्त गर्न आवश्यक कागजात दूतावासमा बुझाउनु पर्ने भएको छ ।
भारत हुँदै तेस्रो मुलुक जानु पर्ने मुनासिव कारणसहित सम्बन्धित व्यक्तिको हस्ताक्षरसहितको निवेदन दूतावासमा दिनुपर्ने भएको छ । त्यसबाहेक यात्रा गर्ने व्यक्तिको राहदानी र सोको प्रतिलिपि, गन्तब्य देशको भिषा र हवाई टिकटको प्रतिलिपी, रोजगार भिषामा विदेश जाने व्यक्तिले वैदेशिक रोजगार विभाग वा अन्तर्गत निकायबाट जारी श्रम स्वीकृतिको प्रतिलिपि बुझाउनु पर्ने दूतावासले जानकारी दिएको छ ।

यसअघि भारतबाहेक तेस्रो मुलुकको भ्रमण गरेको भए यात्रा अभिलेख (भिषा, आगमन प्रस्थान)को प्रतिलिपिसमेत दूतावासमा बुझाउनु पर्ने भएको छ ।

अध्ययन, व्यवसायको सिलसिलामा भारतमा रहेका नेपाली नागरिकको हकमा अध्ययन, व्यवसायसँग सम्बन्धित परिचय पत्र वा कागजात देखाएमा दूतावासले औचित्यको आधारमा एनओसी जारी गर्ने दूतावसाले स्पष्ट पारेको छ ।

खासगरी नेपाली विमानस्थलमा कडाई गरेको मौकामा भारतीय बाटो हुँदै मानव तस्करी हुने गुनासो बढी सुनिन्छ । यसको शिकार महिला कामदार हुने गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here