सीडीएससीको केवाईसी निर्देशिका पारित, लगानीकर्ताले घरबाटै विवरण भर्न सक्ने

काठमाडौं ५, कात्तिक । सिडिएस एण्ड क्लियरिङको केन्द्रीकृत बिद्युतीय ग्राहक पहिचान विवरण (केवाईसी) सेवा सम्वन्धी कार्य संचालन निर्देशिका पारित भएको छ । निर्देशिका पारित भएसँगै बुधबार धितोवत्र बोर्डले कार्यान्वयनका लागि निर्देशन दिएको छ ।

निर्देशिकामा लगानीकर्तालाई धितोपत्र वजार मार्फत प्राप्त हुने सेवा सुविधा तथा सो संग सम्वन्धित प्रक्रियामा समसामयिक सुधार गरी थप सहज एवं छरितो वनाउने उल्लेख छ । यसकालागि लगानीकर्ताले घरैबाट व्यक्तिगत पहिचान सहितको केवाईसी विवरण भर्न सक्ने छन् । त्यस्तो प्रणाली भित्र रहेको केवाईसी विवरण धितोपत्र बजार भित्र सबै निकायले प्रयोग गर्न सक्ने छन् ।

विद्यमान कोभिड–१९ को महामारीमा धितोपत्र व्यवसायीकोमा ग्राहकले आफूले भर्नु पर्ने ग्राहक पहिचान विवरणलाई सहज र सरल बनाउन तथा डिजिटलाईजेसन गर्न आवश्यक रहेको परिप्रेक्ष्यमा नयाँ व्यवस्था धेरै उपयोगी हुने बोर्डले जनाएको छ ।

निर्देशिका कार्यान्वयनमा आए पश्चात धितोपत्र वजारमार्फत सेवा लिन चाहने लगानीकर्ताले एकै खालको विवरण धेरै ठाउँमा पेश गर्नु पर्ने झण्झटिलो व्यवस्था हट्नेछ । लगानीकर्तालाई धितोपत्र कारोवार प्रक्रियामा थप सहज एवं सरल हुने तथा समग्र धितोपत्र वजार प्रविधिमैत्री हँुदै गई बजार विकासमा समेत थप टेवा पुग्ने दाबी बोर्डले गरेको छ ।

निर्देशिकाका मूख्य व्यवस्था यस प्रकार छन ।

– ग्राहकको विद्युतीय केवाईसी दर्ता प्रतिनिधि सम्वन्धी व्यवस्था,

– विद्युतीय केवाईसी प्रणालीको विकास सम्वन्धी व्यवस्था,

– ग्राहकले धितोपत्र कारोवार वा सो सम्वन्धी सेवा लिन विद्युतीय केवाईसी दर्ता गर्नु पर्ने सम्वन्धी व्यवस्था,

– केवाईसी विवरण प्रयोग सम्वन्धी व्यवस्था,

– केवाईसी विवरणलाई परिष्कृत गरी लागु गरिने सम्वन्धी व्यवस्था,

– ग्राहकको केवाईसी विवरणको गोपनियता तथा सुरक्षा सम्वन्धी व्यवस्था,

– केवाईसी विवरणको दुरुपयोग गरेमा कानुनी कारवाही सम्वन्धी व्यवस्था ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here