प्रधानमन्त्री दशैंको शुभकामना सन्देशमा पनि आलोचित

काठमाडौं, ७ असोज । बडादशैंको शुभकामना सन्देशमा प्रधानमन्त्री केपी शर्मा ओली आलोचित हुन पुगेका छन् । शुक्रबार बडादशैंको शुभकामनासहितको विद्युतीय कार्ड सामाजिक सञ्‍जाल फेसबुक र ट्‍विटरबाट सार्वजनिक गरे लगत्तै उनको आलोचना शुरु भएको हो । शुभकामना सन्देश कार्डमा राखिएको निशान छापमा भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको नक्सा नराखेर पुरानो नक्सा प्रयोग गरिएको छ ।

यस हर्कतले प्रधानमन्त्रीको राष्ट्रवाद छताछुल्ल भएको भन्दै सामाजिक संजालमा उनको व्यापक आलोचना भइरहेको छ । नयाँ नक्सा जारी भएर संसदबाट समेत पास भएको छ । यसलाई निसान छापमा राख्न सरकारले संविधिान नै संशोधन गरिसक्यो ।

तर, प्रधानमन्त्रीले पुरानै नक्सा राखेपछि उनी आलोचनाको शिकार बनेका हुन् । त्यसो त प्रधानमन्त्रीले बुधबार राति दुई घण्टासम्म भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयललाई भेटेपछि नै उनीविरुद्ध आलोचना शुरु भएको हो ।

यसमा विपक्षी पार्टीले चर्को आलोचना गरिरहेका छन् । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले लिम्पियाधुरासहितको चुच्चे नक्सा निशान छापबाट गायब गरिनु सामान्य कुरा नभएको प्रतिक्रिया दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here