झण्डै ९ हजार ४ सय महिला उद्यमीले पाए सहुलियत ब्याजको ऋण

काठमाडौँ ७, कात्तिक । करिब २ वर्षमा ९ हजार ३ सय ७६ जना उद्यमी महिलाले सहुलियत ब्याजदरको ऋण सुविधा लिएका छन् । यो राष्ट्र बैंकले सहुलियत ब्याजदरसम्बन्धी कार्यविधि जारी गरेपछि गत भदौसम्म महिला उद्यमीले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएको संख्या हो । ०७६ असारसम्मको तुलनामा यो करिब ६ गुणा बढी हो ।

महिला उद्यमीलाई प्रदान गरिने कर्जामा सरकारले ६ प्रतिशत ब्याज अनुदान दिन्छ  । बैंक तथा वित्तीय संस्थाले तोकेको ब्याजदरमा महिलाले ६ प्रतिशत घटाएर बाँकी ब्याज मात्र तिर्नुपर्छ । ती महिलाका लागि बैंक तथा वित्तीय संस्थाले ६ अर्ब ४२ करोड ९२ लाख रुपैयाँ ऋण प्रवाह गरेका छन् ।

महिलालाई उद्यमशीलतामा प्रोत्साहन गर्ने उद्देश्यले सरकारले सहुलियतपूर्ण कर्जा कार्यक्रम सुरु गरेको हो । यो कार्यक्रमअन्तर्गत महिलाले १५ लाख रुपैयाँसम्म ऋण पाउँछन् ।

सरकारले कृषि तथा पशुपन्छी, शिक्षित युवा स्वरोजगार, विदेशबाट फर्केका युवा परियोजना, महिला उद्यमशील, दलित समुदाय व्यवसाय विकास, उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा र भूकम्पपीडितको निजी आवास निर्माण कर्जासहित सात प्रकारका कर्जाका लागि ५ देखि ६ प्रतिशतसम्म ब्याज अनुदान दिँदै आएको छ ।

सरकारको निर्देशनअनुसार राष्ट्र बैंकले ०७५ कात्तिक २० मा सहुलियतपूर्ण कर्जासम्बन्धी कार्यविधि जारी गरेको थियो । त्यसको केही महिनापछि मात्र उक्त व्यवस्था कार्यान्वयनमा आएको थियो । कार्यविधि जारी हुँदा ७ प्रकारका कर्जा समेटिएको थियो । पछि कपडा उद्योग, सीटीइभीटीबाट तालिमप्राप्त र युवा स्वरोजगार गरी १० प्रकारका कर्जा कार्यक्रम बनाइएको छ । त्यसमा पनि व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा पुरानै हो ।

व्यावसायिक कृषि कर्जामा ब्याज अनुदान दिने कार्यक्रम ०७३ मै आएको हो । थपिएको कर्जामध्ये कपडा उद्योगमा ८८ जनाले करिब ५५ करोड ३८ लाख कर्जा लिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here