‘कोरोनाको मारमा परेका व्यवसायीलाई दवाव दिएर हतोत्साहित नबनाउनु’- गभर्नर अधिकारी

काठमाडौं, १६ कात्तिक । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोरोना भाइरसका कारण समस्यामा परेका उद्योगी तथा व्यवसायीलाई थप तनाव नदिन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएका छन् ।

केन्द्रीय बैंकले आइतबार आयोजना गरेको श्रव्यदृश्य अन्तरक्रियाका क्रममा गभर्नर अधिकारीले यस्तो निर्देशन दिएका हुन् ।

उनले कोभिडका कारण मारमा परेका व्यवसायीलाई राहत प्रदान गर्न र उनीहरुलाई कुनै प्रकारको दबाव दिएर हतोत्साहित नबनाउन आग्रह गरे ।

उनले कोभिड महामारी सुरु हुनुभन्दा पहिला नै प्रभाव भएको कर्जाको हकमा भने छुट दिन नसकिने भएपनि कोभिडका कारण मारमा परेका ऋणीलाई थप अप्ठेरो बनाएर व्यापार व्यवसाय संचालन हुनै नसक्ने अवस्था सिर्जना हुन सक्ने खतराप्रति बैंकहरु सजग रहनुपर्ने बताए ।

उनले भने, ‘कोरोनाकालभन्दा पहिल्यैको उठाउनुपर्ने कर्जा भए त्यसलाई छुट नदिनुस् तर कोरोना कालको हो भने जबर्जस्ती नगर्नुस् ।’

उनले कमाएका व्यवसायीबाट कर्जा उठाउन कुनै आपत्ति नभए पनि समस्यामा परेका र कमाउन नसकेका व्यवसायीलाई समस्यामा पार्न नहुनेमा जोड दिए। अधिकारीले चालू आर्थिक वर्षको मौद्रिक नीतिको व्यावहारिक कार्यान्वयनका लागि सबैको सार्थक सहयोग जरुरी रहेको बताएका छन् ।

अन्तरक्रियाका क्रममा उनले सबै नीतिलाई छायामा पार्ने गरी मौद्रिक नीति आएको भन्ने चर्चाका बीचमा यसको व्यावहारिक कार्यान्वयन नै अहिलेको प्रमुख आवश्यकता रहेको बताए।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पनि राष्ट्र बैंकका पदाधिकारीसँगको भेटमा मौद्रिक नीति असाध्यै राम्रो रहेको र त्यसको व्यावहारिक कार्यान्वयन हुनुपर्ने सुझाव दिनुभएको सन्दर्भ जोड्दै गभर्नर अधिकारीले भने, ‘कार्यान्वयनका क्रममा केही कमीकमजोरी भए, त्यसलाई सुधार गरेर जान हामी तयार छौँ । त्यसका लागि सबैको साथ सहयोग भने अत्यावश्यक छ ।’

कोभिड– १९ का कारण समस्यामा परेका व्यवसायीलाई राहत दिन र उनीहरुलाई ढाडस दिने ढंगले केन्द्रीय बैंकले नियमकका रुपमा भन्दा सहजकर्ताका रुपमा आफूहरु प्रस्तुत भएको जनाउँदै उनले बैंक तथा वित्तीय संस्था एवम्, व्यवसायीलाई समेत सोही भावनालाई आत्मसात् गर्न आग्रह गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here