श्वासबाट केही सेकेन्डभित्रै कोरोना भाइरस पत्ता लगाउन सकिने

काठमाडौं । श्वासबाट केही सेकेन्डभित्रै कोरोना भाइरस पत्ता लगाउन सकिने भएको छ ।

वेल्समा विकास गरिएको श्वासको विश्लेषण गर्ने प्रविधिले छातीसम्बन्धी अन्य सङ्क्रमणलाई कोरोनाबाट लगभग तत्कालै छुट्ट्याउन सक्ने अनुसन्धानले देखाएको हो ।

स्कट्ल्यान्ड र जर्मनीमा गरिएका परीक्षणका नतिजापछि ल्यान्सेट जर्नलले त्यसबारे लेख प्रकाशित गरेर स्पष्ट पारेको बीबीसीले लेखेको छ । त्यसको विकासकर्ता इम्स्पेक्स डाइग्नोस्टिक्स कम्पनीले बजेट सुनिश्चित भएमा छ महिनाभित्र प्रयोगका लागि तयार हुनसक्ने जनाएको छ ।

कम्पनीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत सान्टी डोमिनगुएजले यसको सम्भावना निकै उत्साहप्रद रहेको बताएका छन् । तत्काल नतिजा आउने भएपछि परम्परागत अस्तपाल बाहिरको वातावरणमा यसका उपयोगिता देख्न सकिने उनले उल्लेख गरेका छन् ।

उनले भने, ‘उड्डयन क्षेत्रमा तपाईँ यसको प्रयोग गर्न सक्नुहुनेछ, यातायात क्षेत्रमा, अध्यागमनमा यसको प्रयोग हुनसक्छ। तपाई तत्काल नमूना लिन सक्नुहुन्छ ।

यसका लागि शरीरभित्र कुनै उपकरण प्रयोग गर्नु पर्दैन । नमूना सङ्कलनका लागि विशेषज्ञ जनशक्ति चाहिँदैन र केही मिनेटभित्रै तपाई नतिजा पाउन सक्नुहुन्छ ।’

इम्स्पेक्सले साउथ वेल्सको क्यानन भ्यालीस्थित आफ्नो मुख्यालयमा नयाँ यन्त्रहरूको विकास गरेको हो । खासमा फोक्सोको क्यान्सरजस्ता रोग पत्ता लगाउन र ब्याक्टेरीअल तथा भाइरस रेस्पिरेटरी रोगहरूबीच तत्काल कसरी फरक छुट्ट्याउने भन्ने प्रयोजनका लागि उक्त प्रविधिको विकास गर्न लागिएको थियो ।

तर कोरोनाभाइरस विश्वव्यापी महामारी बनेपछि उक्त संस्थाले त्यसैको परीक्षणका लागि विकास गर्ने निर्णय लिएको हो ।

कोरोना भाइरस महामारी फैलिएको शुरूवाती चरणतिर एडिनबरा र जर्मनीको डोर्टमन्डस्थित अस्पतालका बिरामीहरूमा कम्पनीले विकास गरेको प्रविधिको परीक्षण गरिएको छ।

लफबरा विश्वविद्यालयले नेतृत्व गरेको अध्ययनमा सहभागी अनुसन्धानकर्ताहरूले कोभिड९१९ का बिरामी र छातीसम्बन्धी सङ्क्रमणका अन्य बिरामीबीच ती यन्त्रहरूले फरक छुट्ट्याउन सक्छन् कि सक्दैनन् भनेर हेरेका थिए । बिबिसी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here