चिसो मौसममा कोरोना किन सक्रिय हुन्छ ? अबको तीन महिना नेपाल उच्च जोखिममा

जितेन्द्र खनाल

काठमाडौं । विश्वमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या ४ करोड ७३ लाख नाघिसकेको छ भने १२ लाख भन्दा धेरैले कोरोनाकै कारण ज्यान गुमाइसकेका छन् ।

नेपालमा पनि संक्रमितको संख्या १ लाख ७६ हजार नाघिसकेको छ भने संक्रमणकै कारण नेपालमा अहिलेसम्म ९ सय ८४ जनाले ज्यान गुमाइसकेका छन्।

विश्वमा संक्रमणमुक्त भएर घर फर्कनेको संख्या पनि कम छैन। तर, महामारी फैलिएको झण्डै १ वर्ष बितिसक्दा पनि यो महामारी तत्कालै पूर्णरुपमा नियन्त्रणमा आइहाल्ने छाँट देखिँदैन।

डिसेम्बरको अन्त्यमा चिसो मौसमसँगै चीनको बुहानबाट फैलिएको यो भाइरस चिसो मौसमामा धेरै शक्तिशाली रहने बताईएपनि गर्मी मौसममा पनि फैलियो।

नेपालमा पनि विस्तारै चिसो मौसमको सुरुवात हुँदैछ । त्यसैले यो चिसो मौसममा नेपालमा कोरोना भाइरस बढी सक्रिय रहने संक्रमण दरमा पनि वृद्धि हुने कुरा विशेषज्ञ बताउँछन् ।

कोरोनालाई चिसो मौसम किन उपयुक्त ?

जाडोमा भाइरसलाई ढाकेको वस्तु वा खोल जेल (अर्ध तरल) मा रुपान्तरण हुन्छ जसका कारण एक मानिसबाट अर्को मानिसमा सर्ने क्रममा भाइरस बच्ने सम्भावना धेरै हुने भएको कारण मानिसको शरिरमा सजिलै प्रवेश गर्ने कुरा जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डे बताउँछन् ।

‘जाडो मौसममा हामी खोक्दा हाछ्यु यर्दा निस्कने भाइरसका कणहरु लामो समयसम्म बाँचिरहन्छ’ उनले भने, ‘जसको कारण यस्ता भाइरसहरु मानव शरिरमा सजिलै प्रवेश गर्छन् ।’

मृत्युदर पनि चिसो मौसममा धेरै

गर्मी मौसमको तुलनामा चिसो मौसममा भाइरसको संक्रमण दरका साथै मृत्यु दरमा पनि वृद्धि हुनेकुरा जनस्वास्थ्य विज्ञ डा. पाण्डे बताउँछन् ।

‘चिसो मौसममा मुटु सम्बन्धी रोग, फोक्सोसम्बन्धी रोग, आदी समस्या भएका मानिसहरु यो चिसो मौसममा सबैभन्दा धेरै समस्यामा हुन्छन् । यस्तो कमजोर भएको अवस्थामा यस्ता भाइर्सहरुले आक्रमण गर्यो भने यस्ता व्यक्तिहरुलाई बचाउन निकै अफ्ट्यारो हुन्छ ।’ डा। पाण्डेले भने ।

अबको तीन महिना कोरोनाको उच्च जोखिममा नेपाल

चिसो मौसमको सुरुवात भएको कारण अबको तीन महिना नेपाल कोरोना संक्रमणको उच्च जोखिममा रहने जनस्वास्थ्य विज्ञ डा. पाण्डे बताउँछन् ।

पाण्डेले भने, ‘काठमाडौं लगाएत नेपालभर चिसो मौसमको सुरुवात भईसकेको छ । अबको तीन महिना मंसिर, पुस, माघ नेपाल कोरोना संक्रमणको उच्च जोखिममा छ ।’

कसरी गर्ने पूर्व तयारी

चिसो मौसममा कोरोनाको कारण हुने संक्रमणलाई रोक्नको लागि नेपालले यूरोपका देशहरुबाट पाठ सिक्नुपर्ने कुरा जनस्वास्थ्य विज्ञ डा।पाण्डे बताउँछन् ।

‘हामीले युरोपका देशहरुबाट चिसो मौसममा कोरोनाको संक्रमणबाट कसरी बच्ने भन्ने कुरा सिक्नुपर्छ ।’ उनले भने, ‘चिसो मौसम चलिरहेको यूरोपका धेरै देशहरु अहिले पूर्ण लकडाउनमा छन् । लकडाउन नै नगरेपनि व्यवस्थित आइसोलेसनको निर्माण गर्ने, एक वडामा एउटा आइसोलेसन बनाउने जस्ता कामहरुमा ध्यान दिनुपर्छ ।’

जनस्वास्थ्य विदको मतलाई आधार मान्ने हो भने जाडो मौसममा यो भाइरसको जोखिम बढ्ने देखिन्छ यसको नियन्त्रणका लागि सरकारले बेलैमा ठोस कदम चाल्नुपर्ने देखिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here