काठमाडौं, १८ कात्तिक । साझा पार्टीले राजधानीको खुलामञ्चमा कोरोना भाइरसका कारण समस्यामा परेका मजदूर तथा असहायहरुलाई खाना खुवाउने कार्यमा रोक लगाउने काठमाडौँ महानगरपालिकाको निर्णयको भर्त्सना गरेको छ। साझा पार्टीले मंगलबार विज्ञप्ति जारी गर्दै महानगरको उक्त निर्णय अमानवीय भएको भन्दै विरोध गरेको हो ।
कोरोना संक्रमणका कारण श्रमिक तथा असहायहरू भोकभोकै मर्नु पर्ने अवस्था सृजना भएका बेला सरकारनै उनीहरूको हेरचाह गर्नुपर्नेमा उल्टो नागरिक स्तरबाट भइरहेको खाना खुवाउने कार्यसमेत रोक्न निर्देशन दिनु अमानवीयताको पराकाष्ठा भएको साझाले बताएको छ।
साझा पार्टीका प्रवक्ता शरदराज पाठकद्वारा जारी विज्ञप्तिमा भनिएको छ– ‘सरकारको सो कदमको विरोध जनाउन भोलि बुधबार बिहान र बेलुका खुलामञ्चमा खुवाइने खानाको खर्च साझा पार्टीका सदस्य तथा शुभेच्छुकहरूले बेहोर्ने छन् र साझा पार्टीका स्वयंसेवीहरू पनि खाना खुवाउने कार्यमा सरिक हुनेछन् । शान्तिपूर्ण रूपमा गरिने यस्तो मानवीय कार्यलाई हेरौँ कसरी रोक्दो रहेछ, यो निर्दयी सरकारले ।’
साझा पार्टीले नेपालभित्र र बाहिर रहेका सबै नेपालीलाई खुलामञ्च लगायतका स्थानमा दैनिक सयौँ नेपाली दाजुभाइ, दिदीबहिनीको पीडामा मल्हम लगाइरहेका समूहहरूलाई सहयोग गर्न अपिल समेत गरेकाे छ । ‘सरकारले तुरुन्त आफ्नो निर्णय फिर्ता गरोस् र कोरोना कहर कायम रहुन्जेल श्रमिक तथा असहायहरूलाई कि ‘काम’को व्यवस्था गरोस् कि ‘माम’को व्यवस्था गरोस्’, विज्ञप्तिमा भनिएकाे छ ।