कोरोना बीमाको भुक्तानी ७ दिनभित्र गर्न अर्थ मन्त्रालयको निर्देशन, कार्यान्वयनको लागि कम्पनीलाई पत्राचार

काठमाडौं १८, कात्तिक । अबको सात दिन भित्र बीमा कम्पनीहरुले कोरोना बीमाका सबै दाबीको भुक्तानी गर्नु पर्ने भएको छ । अर्थमन्त्रालयको निर्देशन अनुसार बीमा समितिले मंगलबार कम्पनीहरुलाई निर्देशन दिएको छ ।

अर्थमन्त्रालयमा मंगलबार बसेको मन्त्रीस्तिरिय बैठकले सो निर्णय गरेको हो । दाबी भुक्तानीमा बिमा समितिले समन्वय र अनुगमन गरि भुक्तानीको दैनिक विवरण अर्थ मन्त्रालयमा पठाउने निर्णय वैठकले गरेको छ ।

बीमा समितिबाट जारी गरिएको बीमालेख बमोजिम कोरोना बीमा दाबी गरेका बिमितहरुको पीसीआर परिक्षण प्रतिवेदन पोजेटिभ प्रमाणित भएको अवस्थामा बीमालेख बमोजिम प्रदान गरिने बिमांक रकम दाबी परेका सबै बिमितलाई एक हप्ता भित्र भुक्तानी गर्ने व्यवस्था गर्न भन्दै समितिले कम्पनीलाई निर्देशन दिएको छ ।

सेवाग्राहीबाट आएका गुनासा सुनुवाई गरी समस्या समाधानका लागि सम्बन्धित बीमा कम्पनीलाई निर्देशन दिन र हटलाइन टेलिफोन सहितको हेल्प डेक्स सञ्चालन गर्ने व्यवस्था बीमा समितिले तत्काल मिलाउने निर्णय पनि अर्थमन्त्रालयले गरेको छ ।

गत बैशाख देखि सुरु गरिएको कोरोना बीमामा गत सातासम्म परेका मध्ये ९० प्रतिशत दाबीले भुक्तानी पाएका छैनन ।
कारोना बिमा मापदण्ड ०७७ मा आवश्यक कागजात पुगेका बिमितले बढिमा सात दिन भित्र भुक्तानी पाइसक्नु पर्ने प्रावधान छ । तर, बीमा कम्पनीहरुले भुक्तानी दिएका छैनन ।

गत सातासम्म १३ हजार ३ सय ५३ वटा दाबी परेको छ । जसमध्ये १ हजार ४ सय ४१ वटा दाबी मात्र भुक्तानी भएको छ ।

गत सातासम्म बिमा कम्पनीले कुल १ लाख ८१ हजार ७ सय ९५ वटा बिमालेख विक्री गरेका छन् । ती बिमालेख मार्फत १७ लाख ७० हजार ९ सय २६ जनाको कोरोना बिमा भएको छ ।

ती बिमामार्फत कम्पनीले १ अर्ब १ करोड ९१ लाख ७४ हजार ६ सय ८२ रुपैयाँ संकलन भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here