भारतीय सेनाध्यक्ष तीनदिने भ्रमणका लागि नेपाल आउँदै, काठमाडौंमा उच्च सुरक्षा

काठमाडौं, १९ कात्तिक । भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणे नेपालको तीनदिने भ्रमणका लागि बुधबार काठमाडौँ आउँदै छन् ।

प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा नेपाल आउन लागेका उनको औपचारिक कार्यक्रम भने विहिबार बिहानबाट मात्र सुरु हुनेछ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट जनरल नरवणेलाई बिहीबार अपराह्न सेनाको मानार्थ महारथी दर्जा प्रदान गरिने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सोही अवसरमा राष्ट्रपतिसँग उनले शिष्टाचार भेट गर्नेछन् । नेपालका तर्फबाट मानार्थ महारथी प्राप्त गर्ने भारतीय स्थलसेनाध्यक्ष जनरल नरावणे १८औँ सेनापति हुन् ।

पछिल्लो एक वर्षको अवधिमा यो नै सबैभन्दा उच्च भारतीय अधिकारीले गर्न लागेको नेपालको औपचारिक भ्रमण हो।

नेपाली सेनाले स्थलसेनाध्यक्ष नरवणेको भ्रमणको मुख्य उद्देश्य परम्पराको निरन्तरता भने पनि नेपालका कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रका भूभाग भारतले राजनीतिक नक्शामा समेटेपछि उत्पन्न द्विपक्षीय सम्बन्ध सुदृढ तुल्याउन उनको यहाँ हुने भेटघाट महत्वपूर्ण सावित हुने अपेक्षा गरिएको छ ।

नरवाणे आगमनको पूर्वसन्ध्यामा काठमाडौंको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here