नेपाल बैंक र मुसिकोट नगरपालिकाबीच सहुलियत कर्जा प्रवाह गर्ने सम्झौता

काठमाडौं २०, कात्तिक । ब्याज अनुदानको सहुलियत कर्जा प्रवाह गर्ने उद्देश्यले नेपाल बैंक गुल्मी स्थित मुसिकोट शाखा र मुसिकोट नगरपालिकाबीच सम्झौता भएको छ । सम्झौतामा नगरपालिकाको तर्फवाट मेयर सोमनाथ सापकोटा र नेपाल बैंकका लुम्बिनी प्रदेश प्रमुख पासाङ दोर्जे शेर्पाले हस्ताक्षर गरेका थिए ।

सम्झौता अनुसार बैंकले सरकारले ब्याज अनुदान दिने सबै प्रकारका कर्जा प्रवाह गर्नेछ । कर्जाका लागि ऋणीको छनौट तथा सिफारिसको काम नगरपालिकाले गर्नेछ ।
उद्यम गर्न चाहने नागरिकहरुलाई मध्यनजर गर्दै सहुलियतपूर्ण कर्जाको लागि नेपाल बैंकसँग सम्झौता गरिएको नगरपालिकाले जनाएको छ ।

सम्झौता अनुसार नगरपालिकाले ब्याज सहुलियतको लागि केही रकम बैंकमा धरौंटीको रुपमा राख्नेछ । बैंकले नगरपालिकाको सिफारिसमा उद्यम गर्न चाहनेलाई सहुलियत व्याजदर वा निशुल्क व्याजदरमा कर्जा प्रवाह गर्ने छ । सम्भव भएसम्म धितो राखेर ऋण प्रदान गरिनेछ । तर, उद्यम गर्न चाहनेले धितो नभएकै कारणले ऋणबाट बञ्चित नहुने बताइएको छ । त्यस्ता ऋणीलाई नगरपालिकाले विना धितोमा कर्जा प्रवाह गर्ने बताएको छ ।

नगरपालिकाले चालु आर्थिक वर्षमा २० करोड रुपैयाँ ऋण रकम परिचालन गर्ने योजना बनाएको छ । त्यसकालागि हरेक वडाबाट सम्भावित ऋणी छनौट गरिनेछ । छनौटमा पर्ने इच्छुक व्यक्तिलाई नेपाल बैंक मार्फत ऋण प्रवाह गरिने नगरपालिका प्रमुख सोमनाथ सापकोटाले बताए ।

बैंकले निब्यार्जी देखि ३.८८ प्रतिशत सम्म ब्याजदरमा ऋण प्रवाह गर्ने र सो ऋणको वाँकी व्याज भुक्तानी नेपाल सरकार तथा मुसिकोट नगरपालिकाले अनुदान दिनेछन् ।

सहुलियत कर्जाका लागि मापदण्ड पुगेका उद्यमीलाई प्रतिव्यक्ति १५ लाख रुपैयाँसम्म कर्जा प्रवाह गर्न सकिने नेपाल बैंक वामीटक्सार शाखा प्रमुख राजु अर्यालले बताए । ‘उद्यमीको लागि दिइने कर्जामा कुनैपनि सेवाशुल्क लाग्दैन,’ उनले भने ।

नगरपालिकाभित्र उद्यमशिलता विकास गर्ने उद्देश्यले सहुलियत दरमा कर्जा प्रवाह गर्न लागिएको नगरपालिकाले बताएको छ ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here