काठमाडौं, २१ कात्तिक । कोरोना भाइरस महामारीको विश्वव्यापी संक्रमणबाट उत्पन्न असहज परिस्थितिका कारण अहिलेसम्म विदेशमा रहेका १ लाख ३२ हजार नेपाली स्वदेश फर्किएका छन् ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अनुसार नियमित र चार्टर्ड उडानमार्फत बिहीबारसम्म १ लाख ३१ हजार ९४९ नेपाली स्वदेश फर्किएका हुन् ।
कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सिसीएमसी) का अनुसार उक्त तथ्यांक चैत ११ गतेदेखि कात्तिक २० गतेसम्मको हो ।
कोभिड–१९ को संक्रमणबाट उत्पन्न असहज परिस्थितका कारण विदेशमा अलपत्र परेका तथा स्वदेश आउनै पर्नेलाई सरकारले नेपाल आउन सहजीकरण गर्दै आएको छ ।
स्वदेश फर्कनेहरुमा सबैभन्दा बढी संयुक्त अरब इमिरेट्सबाट ३८ हजार ९६२ जना छन् भने सबभन्दा कम श्रीलंकाबाट ६ जना रहेका छन् ।
उनीहरु अधिकांश रोजगारीका लागि र केही अध्ययन, तालिम प्रशिक्षण, उपचार र परिवारिक भेटघाटका सिलसिलामा ति मुलुकमा पुगेका थिए ।
केन्द्रका अनुसार हालसम्म साउदी अरेबियाबाट १८ हजार ११९ मलेशियाबाट १८ हजार ३४२ कतारबाट २५ हजार ८३७, कुवेतबाट १० हजार २४०, जापानबाट ३ हजार ७ सय २७, दक्षिण कोरियाबाट १ हजार ८११, ओमनबाट २ हजार १२६ बहराइनबाट १ हजार ३३९ जना स्वदेश फर्किएका छन् ।
अष्ट्रेलियाबाट १ हजार १ सय, टर्कीबाट ३ हजार ३२० , बंगलादेशबाट ९३०, माल्दिभ्सबाट १०२६, सिङ्गापुरबाट १८११, अमेरिकाबाट ४३७, चीनबाट ६३४ जना नेपाली स्वदेश फर्केका हुन् ।