यो साता विदेशमा एक नेपालीको मृत्यु, ५४४ कोरोना संक्रमित

काठमाडौं, २३ कात्तिक । कोरोना भाइरसको विश्वव्यापी दोस्रो छाल सुरु भएयता थप दुई देशका नेपालीमा संक्रमण देखिएको छ ।

गैरआवासीय नेपाली संघका अनुसार यो साता अष्ट्रिया र चेक रिपव्लिकमा रहेका नेपालीमा संक्रमण देखिएको हो । संघका अनुसार विश्वभर ४४ देशमा रहेका नेपालीमा कोराना संक्रमण देखिएको छ ।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता विदेशमा रहेका थप १ हजार १ सय ६३ जना नेपालीलाई कोरोनामुक्त भएका छन् भने थप ५ सय ४४ जनामा संक्रमण देखिएको छ ।

विदेशमा ४४ हजार १ सय १३ जना नेपाली कोरोना भाइरसको संक्रमणमा परेका छन् ।

तीमध्ये ४० हजार ७ सय २८ जना अर्थात् ९२ प्रतिशत नेपाली कोरोना मुक्त भएका छन् । यो साता स्पेन, नेदरल्याण्ड, चेक रिपव्लिक, डेनमार्क, अष्ट्रिया रहेका नेपालीमा थप कोरोना भाइरसको संक्रमण देखिएको छ ।

यो साता साउदी अरबमा थप १ जना नेपालीको कोरोना भाइरसका कारण ज्यान गुमाउनु परेको छ । विदेशमा १८ देशमा २ सय ८५ जना नेपालीले कोरोना संक्रमणका कारण ज्यान गुमाइसकेका छन् ।

यो साता नेपालमा मात्र १ लाख ९१ हजार ६ सय ३६ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् भने ती मध्ये १ लाख ५५ हजार १ सय १४ जना संक्रमणमुक्त भएका छन् । नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ८१ प्रतिशत रहेको छ ।

हिजो शनिवार साँझसम्म नेपालमा १ हजार ८७ जनाको कोरोना संक्रमणका कारण ज्यान गइसकेको छ ।

१० हजार किट स्वास्थ्य सामग्री

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जापानबाट प्राप्त १० हजार पिस एन्टी जिन स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरेको छ ।

करिब एक करोड रुपैयाँ मूल्य पर्ने उक्त एन्टी जिन एनआरएनए उपाध्यक्ष डा. बद्री केसीले स्वास्थ्य राज्यमन्त्री नवराज रावतलाई गत शुक्रबार हस्तान्तरण गरेका हुन् ।

स्वास्थ्य मन्त्रालयमा आयोजित सामाग्री हस्तान्तरण कार्यक्रमलाई सम्वोधन गर्दै स्वास्थ्य राज्यमन्त्री नवराज रावतले विदेशमा रहेर नेपाल र नेपालीप्रति देखाएको सहयोगी भावनाको प्रशंसा गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here