भारतीय उद्यमीहरुलाई नेपालमा लगानी गर्न अर्थमन्त्री खतिवडाको आग्रह

काठमाडौं, २ जेठ । अर्थमन्त्री डा. युवराज खतिवडाले निर्धक्क भएर नेपालमा लगानी गर्न भारतीय उद्यमीहरुलाई आग्रह गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघले भारतीय दूतावास र फ्रेन्चाईज इन्डियाको सहकार्यमा आयोजना गरेको ‘नेपाल—भारत फ्रेन्चाईज ईन्भेस्टमेन्ट एक्स्पो एण्ड कन्क्लेभ’को उद्घाटन कार्यक्रममा अर्थमन्त्री खतिवडाले उक्त कुरा व्यक्त गरेका हुन् ।

सरकारले लगानीको वातावरण बनाएको, नीतिगत सुधार गरेको साथै उच्च प्रतिफल र सुरक्षाको समेत प्रबन्ध गरेकाले लगानीको लागि नेपाल सुगम गन्तव्य भएको दावी समेत उनले गरे ।

उनले विशेषगरी नेपालको पर्यटन क्षेत्रमा धेरै सम्भावना रहेको बताउँदै पर्यटन क्षेत्रमा लगानी गर्न भारतीय उद्यमीलाई आग्रह गरे । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउने र २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको बताउँदै सेवामूलक क्षेत्रमा समेत लगानी गर्ने सुवर्ण अवसर रहेको समेत उनले बताएका छन् ।

नेपाल सरकार विदेशी लगानी भित्र्याई आमुल परिवर्तन गर्ने बाटोमा रहेको पनि उनले बताए । उनले भने ‘नेपाल सरकार विदेशी लगानी भित्र्याई आमुल परिवर्तन गर्ने बाटोमा रहेको छ, यसका लागि हामीले कानुनमा सुधार समेत गरिरहेका छौं र एकल बिन्दु सेवा केन्द्रसमेत सञ्चालन गरीसकेका छौं ।’

कन्क्लेभमा विभिन्न ५ सेसनमा नेपाल र भारतका चर्चित र सफल उद्यमीहरुले आफ्नो अनुभव सेयर गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै एक्स्पोमा दुवै देशका गरी करिव ६० वटा व्राण्डहरूले भाग लिएका छन् । एक्सपोमा नेपालबाट अग्नि ग्रुप, टीव्रेवाला ग्रुप, मेरो घर, सीटी ड्रीम्स, सांग्रिला, हिमालयन जाभा, गोल्डस्टार, अल्पाइन पश्मिना (च्याङग्रा) हाउस, शभा नेपाल र श्रीजयकाली जडीवूटी लगायतका कम्पनीहरूको सहभागिता रहेकाे छ ।

त्यसैगरी भारतीय व्राण्डहरूमा नाइन कीड्स, अमेरिकन स्कूल, वेस्ट सेलर, वाइक स्टूडियो, बम्वे डाइङ, क्याप, चाए गरम, कपर चिम्नी, यूक्लिन लगायतका स्टल रहेकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here