कामना सेवा विकास बैंकको खुद नाफा १० गुणाले वृद्धि

काठमाडौं, २५ कात्तिक । कामना सेवा विकास बैंकले चालू आवको पहिलो त्रैमासमा उत्कृष्ट प्रदर्शन गरेको छ ।

बैंकले मंगलबार सार्वजनिक गरेको चालू आवको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा १० गुणाले बढेको छ ।

असोज मसान्तसम्ममा बैंकले २० करोड १ लाख १६ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आवको सोही अवधिको तुलनामा ९७२.९५ प्रतिशतले बढी हो । बैंकले गत आवको पहिलो त्रैमासमा १ करोड ८६ लाख खुद नाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी बढ्नु, सञ्चालन नाफाका साथै गैर सञ्चालन आम्दानी उल्लेख्य बढ्दा खुद नाफामा आक्रमक छलाङ मार्न सफल भएको हो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५१.६६ प्रतिशतले बढेर ३८ करोड १५ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा २२३.४७ प्रतिशतले बढेर ८ करोड ४९ लाख रुपैयाँ पुगेको छ। बैंकले असोज मसान्तसम्ममा २० करोड ९ लाख ६३ हजार रुपैयाँ गैर सञ्चालन आम्दानी गरेको छ।

२ अर्ब ५४ करोड १ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ५० करोड ३० लाख रुपैयाँ र रिटेन्ड अर्निङ्गमा ७ करोड १४ लाख रुपैयाँ सञ्चित छ । समीक्षा अवधिसम्म बैंकको वितरण योग्य मुनाफा ७ करोड ४३ लाख रुपैयाँ रहेको छ।

असोज मसान्तसम्ममा बैंकले ३६ अर्ब ७२ करोड रुपैयाँ निक्षेप संकलन गरी २९ अर्ब ९२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

खुद नाफासँगै बैंकको प्रतिसेयर आम्दानी २८.५७ रुपैयाँले बढेर ३१.५१ रुपैयाँ पुगेको छ। समिक्षा अवधिसम्म बैंकको प्रतिसेयर नेटवर्थ १२२.६२ रुपैयाँ, मूल्य आम्दानी अनुपात ७.०८ गुणा, खराब कर्जा २.६४ प्रतिशत, आधार दर ९.२८ प्रतिशत र स्प्रेडदर ४.९८ प्रतिशत रहेको छ ।