चित्रबहादुर केसीको उपचार खर्च सरकारले व्यहोर्ने

काठमाडौं, २७ कात्तिक । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको उपचार खर्च सरकारले व्यहोर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले कोरोना संक्रमण भएका केसीको उपचार खर्च सरकारले व्यहोर्ने निर्णय गरेको हो ।

‘आज सम्पन्न मन्त्री परिषदको बैठकले उहाँको सम्पूर्ण उपचार खर्च बेहोर्ने निर्णय गरेको पनि अवगत गराउँछु’, अर्थमन्त्री पौडेलले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्। अर्थमन्त्री पौडेलले अध्यक्ष केसीको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन्।

केसीलाई बुधबार कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि मेडिसिटी अस्पतालको आइसोलेशनमा उपचार गराइरहेका केसीको स्वास्थ्यमा थप समस्या देखिन थालेको जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले प्रेस विज्ञप्तिमाजनाएका थिए ।

निमोनियाले ग्रस्त केसीलाई लामो समयसम्म अस्पतालमा राखेर उपचार गर्नुपर्ने भएकाले उपचारका लागि आर्थिक सहयोग जुटाउने निर्णय पार्टीले गरेको थियो । तर, केसीका परिवारले भने उनको अवस्था सामान्य रहेको भन्दै सहयोग माग्ने पार्टीको निर्णयको विरोध गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here