काठमाडौं जिल्ला प्रशासनको स्थगित सेवा मंसिर ३ देखि सुचारु, कुन स्थानीय तहको पालो कहिले ?

काठमाडौं, २७ कात्तिक । जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंसिर ३ गतेदेखि स्थगित सम्पूर्ण सेवाहरु दिने भएको छ ।

उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले बन्द गरेको सेवा बुधबारदेखि पुनः सञ्चालनमा ल्याउन लागेको हो ।

प्रशासन कार्यालयले बिहीबार सूचना प्रकाशित गरी नयाँ नागरिकता, नागरिकताको प्रतिलिपी, नावालिग परिचयपत्र, राहदानी हतियार दर्ता तथा नवीकरण जस्ता सेवा मंसिर ३ गतेदेखि खुला गर्ने जानाकारी दिएको हो । उक्त सेवाहरु भदौं २५ गतेदेखि रोकिएको थियो ।

पुनः सञ्चालनमा आएपनि कार्यालयले स्थानीय तहअनुसार निश्चित बार मात्र सेवा दिनेछ । सार्वजनिक सूचना अनुसार आइतबार काठमाडौं महानगरपालिकाको वडा नं १ देखि ११ सम्मका बासिन्दाले, सोमबार कीर्तिपुर, नागार्जुन र चन्द्रागिरि नगरपालिकाका वासिन्दाले सेवा पाउनेछन् ।

त्यस्तै मंगलबार काठमाडौं महानगरपालिकाको वडा नं १२ देखि २१ सम्मकाले, बुधबार बुढानीलकण्ठ, टोखा र कागेश्वरी मनोहरा नगरपालिका सेवाग्राहीले सेवा पाउेछन् ।

बिहीबार काठमाडौं महानगरपालिकाको वडा नम्बर २२ देखि ३२ सम्मकाले र शुक्रबार गोकर्णेश्वर, दक्षिणकाली, शंखरापुर र तारकेश्वर नगरपालिकाका वासिन्दाले सेवा पाउनेछन् ।

पत्रपत्रिका संघसंस्था दर्ताको लागि सोमबार र बुधबार तोकिएको छ भने नवीकरणको लागि आइतबार, मंगलबार र विहिबार तोकिएको छ । पत्रपत्रिका छापाखान दर्ता र विधान संशोधनको लागि शुक्रबारको लागि तोकिएको छ ।

शान्ति सुरक्षा र कानुनबमोजिम हुने मुद्दाका लागि भने शनिबारबाहेक कार्यालय खुल्नेछ। सेवा लिन आउनेले तोकिएको मापदण्ड भने पालना गर्नु पर्नेछ ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here