नगरकोटीको कथा संग्रह ’कल्प–ग्रन्थ’को प्रिमियम संस्करण चैतमा आउने, अग्रिम बुकिङ खुल्ला

काठमाडौं, २ मंसिर । साहित्य लेखनमा सधैँ नयाँ प्रयोग गर्दै आइरहेका कुमार नगरकोटीको नयाँ कथा संग्रहह ’कल्प–ग्रन्थ’को प्रिमियम संस्करण प्रकाशन हुने भएको छ । ६३ वटा विभिन्न बान्की र शैलीका कथा समेटिएको सो पुस्तक ७ सय ७७ पृष्ठको रहेको प्रकाशक बुक–हिलले बताएको छ ।

किताबको प्रिअर्डर खुला भएको प्रकाशकले बताएको छ । किताब खरिद गर्न आगामी फागुन १ गतेसम्म अग्रिम बुकिङ गर्न सकिनेछ । पुस्तकको मूल्य रु. २०२१ बैंकमार्फत पठाएर अग्रिम बुकिङ गर्न सकिने प्रकाशकले बताएको छ ।

पुस्तकमा कन्सेप्चुअल, ग्रे, पोस्टकार्ड, इन्स्टलेसन, स्क्रिन प्ले, ट्रान्स क्रियटेड, टाइपोग्राफिक लगायत कथाहरू रहेका छन् । नेपाली साहित्यमा नगरकोटीको यो किताब उच्चतम प्रयोग हो, बुक–हिलका अध्यक्ष भूपेन्द्र खड्काले भने ।

पश्चिमा मुलुकहरूमा विशेष लेखकहरूका किताब विशेष तरिकाले प्रकाशन हुन्छन्, हामीले पनि लेखनमा सधैँ प्रयोग गर्दै आइरहेका नगरकोटीको यो किताबलाई विशेष तरिकाले प्रकाशन गर्न लागेका हौँ, उनले भने ।

‘एसिड फ्री’ कागजमा छापिने किताब हार्ड कभरमा बक्ससहित उपलब्ध हुनेछ । एउटा बुकमार्क, केही विशेष पोस्टकार्ड र झोला किताबसहित प्रत्येक ग्राहकले हात पार्नेछन् । साथै, हरेक किताबमा नगरकोटीको अटोग्राफ रहने छ ।

प्रकाशकले दिएको जानकारीअनुसार पुस्तक जति ग्राहकले प्रिअर्डर गर्छन्, त्यति ‘‘प्रति’ मात्र छापिनेछ ्र देश वा विदेशका कुनै पनि पुस्तक पसलमा यो पुस्तक उपलब्ध हुनेछैन । पुस्तक पुनः मुद्रण र प्रकाशन नहुने पनि खड्काले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here