महानगरमा जथाभावी पार्किङमा कडाई, एकै दिन ३० मोटरसाईकल र स्कुटर कारबाहीमा

काठमाडौँ, ४ मंसिर । काठमाडौँ महानगरपालिका क्षेत्र भित्र विहीबार एकै दिन ‘नो पार्किङ’ र फुटपाथमा जथाभावी राखिएका ३० ओटा मोटरसाइकल र स्कुटर कारबाहीमा परेका छन् ।

महानगरपालिका र महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएका प्रहरीले जथाभावी पार्किङ गरिएका ती मोटरसाइकल तथा स्कुटरलाई कारवाही गरेका हुन् ।

‘कोभिड–१९ कारण लकडाउनसँगै हामीले ‘नो पार्किङ’ र फुटपाथमा जथाभावी पार्किङ गरिएका मोटरसाइकल तथा स्कुटरलाई कारबाही गर्ने अभियान स्थगन गरेका थियौँ,’ महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीम प्रसाद ढकालले भने ।

‘लकडाउन खुलेसँगै काठमाडौँमा भिडभाड बढेको छ । यस्तो बेलामा जथाभावी पार्किङ गर्दा अव्यवस्थित भई भिडभाड झन बढ्ने र कोरोना संक्रमण फैलिन सक्ने खतरालाई ध्यान दिदैँ हामीले आजबाट यो अभियान सुरु गरेका हौँ ।’

ढकालले दशैँ, तिहार, छठ जस्ता पर्वपछि अझ भिडभाड बढ्न सक्ने कुरालाई समेत ध्यानमा राखी उक्त अभियानलाई थप प्रभावकारी ढंगले अघि बढाउन चाहेको बताए ।

काठमाडौ महानगरपालिकाको सहकार्यमै उपत्यकाका विभिन्न चोकहरुमा डमी ट्राफिक प्रहरीको प्रयोग गरी ट्राफिक नियम पालना गराउने, नागरिकलाई सचेत गराउने र सवारी दुर्घटना न्युनिकरण गर्ने उदेश्यले ट्राफिक जनचेतनाका लागि सांगीतिक डमी अभियानको सुभारम्भ गरिसकेको पनि उनको भनाइ छ ।

नगर प्रहरी प्रमुख धनपती सापकोटाका अनुसार बिहीबारबाटै बाट दुई ओटा टीम परिचालन भएका छन् । ‘नो पार्किङ एरिया’ तथा फूटपाथमा जथाभावी पार्किङ गरिएका मोटरसाइकल तथा स्कुटरलाई हामीले उठाएर कारवाही सुरु गरेका छौँ । यो अभियान निरन्तर चल्छ,’ उनले भने ।

यसरी जथाभावी पार्किङ गर्नेलाई रु. १ हजार जरिवाना गरिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here