‘९५ प्रतिशतले सुरक्षित ढंगमा मास्क लगाउने हो भने लकडाउन आवश्यक पर्दैन’

काठमाडौं । विश्वभर कोरोना संक्रमणको दर बढ्दो क्रममा रहेको छ । पछिल्लो २४ घण्टामा विश्वमा ६ लाख २० हजार ७४४ जना कोरोना संक्रमित थपिएका छन् ।

विश्व स्वाथ्य संगठनको तथ्यांक अनुसार हालसम्म कुल कोरोना संक्रमितको संख्या ५ करोड ६६ लाख २३ हजार ६४३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १० हजार ५१६ कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोनाका कारण हालसम्म विश्वमा १३ लाख ५५ हजार ९६३ जनाको मृत्यु भइसकेको छ ।

विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमण अमेरिका, भारत, ब्राजिल लगायत देशमा भएको छ । नेपालमा पनि चाडपर्वको क्रममा घटेको कोरोनाको संक्रमण उकालो लाग्न थालेको छ ।

काठमाडौं उपत्यका संक्रमणको उच्च जोखिममा छ। यहाँ ६० लाख हाराहारीको जनघनत्व छ, भीड अनियन्त्रित छ। ज्येष्ठ नागरिक र दीर्घरोगी पनि अधिक यहीँ नै छन्।

सरकारले सकेसम्म घरबाहिर ननिस्कन र निस्कनै पर्दा आवश्यक स्वास्थ्य सावधानी अपनाएर मात्रै निस्कन भनेको छ। तर मानिसहरू अनावश्यक भीड गरिरहेका यत्रतत्र देखिन्छन्।

भीडमा पनि मास्क नलाउनेको संख्या यस्तै रहेको छ । कोरोना बच्नको लागि हालको उपचार भनेको मास्क र सामाजिक दुरी नै हो ।

डब्ल्यूएचओका अधिकारीले ९५ प्रतिशत मानिसले सुरक्षित ढंगमा मास्क लगाउने हो भने लकडाउन कहीँ पनि आवश्यक नपर्ने बताएका छन्। डब्ल्यूएचओका युरोप क्षेत्र निर्देशक हंस क्लुगले यस्तो बताएका हुन्।

पत्रकार सम्मेलनमा बोल्दै क्लुगले भने, ‘यदि हामी सबैले आफ्नो तर्फबाट सचेतता अपनाउने अर्थात् सुरक्षित ढंगमा मास्क लगाउने हो भने लकडाउन आवश्यक पर्दैन।

लकडाउन कोरोना भाइरसविरूद्ध अपनाइने अन्तिम विकल्प हो। मास्क लगाउन मात्र पनि पर्याप्त नहोला, तर यसका साथै सोसल डिस्टान्सिङ तथा हात धुने वा स्यानिटाइजर प्रयोग गर्नेजस्ता उपाय अपनाउनु अनिवार्य छ। यति हुँदाहुँदै पनि मास्क अत्यन्तै जरूरी छ।’

विद्यालय वा कलेज बन्द गर्दैमा संक्रमण नियन्त्रण नहुने उनको भनाइ थियो। उनले भने, ‘बच्चा र किशोरलाई संक्रमणको प्रमुख बाहक मानिएको छैन। स्कुल बन्द गर्नुलाई कोरोना नियन्त्रणको प्रभावकारी उपाय मान्न सकिँदैन।

जुन देशले स्कुल बन्द गर्नेबारे विचार गरेका छन्, मेरो प्रार्थना छ कि, ती यसबाट पर्ने खराब असरबारे गम्भीर बनून्। स्कुल बन्द गर्दा बच्चाको मानसिक स्वास्थ्य र शरीरमा गम्भीर असर पर्न सक्छ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here