चाडपर्व लक्षित सुपथ मूल्य पसललाई माघ २ गतेसम्म निरन्तरता

फाइलफोटो

काठमाडौं, ८ मंसिर । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चाडपर्व लक्षित गरी सञ्चालन गरेको सुपथ मूल्य पसललाई माघ २ गतेसम्म निरन्तरता दिने भएको छ ।

नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैंदेखि छठसम्मका लागि भनेर सञ्चालनमा ल्याइएका सबै पसल माघी पर्वसम्म खुल्ला गर्न लागेको हो ।

सुपथ मूल्यका पसलहरु कर्णालीको सिमी फापरमा प्रतिकेजी १० रुपैयाँ, चालम लगायतको अन्य खाद्यबस्तुमा प्रतिकेजी ५ रुपैयाँ छुट दिएको सूचनामा उल्लेख गरिएको छ । मंसिर सात गतेसम्म संस्थानले १० हजार २७ क्वीन्टल खाद्य बस्तु बिक्री गरेको जनाएको छ ।

कम्पनीले चाडपर्व लक्षित गरेर देशभर २९ वटा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको थियो। उपत्यकामा थापाथली, रामशाहपथ, नख्खु, लगनखेल र सूर्यविनायकमा रहेका बिक्री काउन्टरबाट सुपथ मूल्य पसल सञ्चालनमा छन् ।

सरकारले खाद्य कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेसन र दुग्ध विकास संस्थानलाई गत असोज १५ देखि मंसिर ७ गतेसम्म सहुलियत मूल्यमा उक्त पसल सञ्चालनको अनुमति दिएको थियो ।

सरकारले दिएका समयमा कम्पनीको लक्ष्य अनुसार सामग्री बिक्री नभए पनि कोरोना महामारीका समयमा खाद्य वस्तु अभाव हुन नदिन सहुलियत मुल्यका पसल सञ्चालनको अवधि थप गरिएको कम्पनीले जनाएको छ ।

निजी क्षेत्रबाट हुने अधिक मंहगी नियन्त्रण गर्ने उपाय स्वरुप सरकारले हरेक वर्ष चाडपर्वलाई लक्षित यस्ता पसल संचालन गर्छ । जसले गर्दा कालोबजारी र मंहगी नियन्त्रण हुने विश्वास गरिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here