डिसेम्बरको दोस्रो साताबाट कोरोनाविरुद्धको भ्याक्सिन प्रयोगमा ल्याउने अमेरिकाको तयारी

काठमाडौं । अमेरिकामा डिसेम्बर ११ देखि कोरोना भाइरसविरुद्धको भ्याक्सिन आम मानिसले पाउने भएका छन्। अमेरिकाको कोरोना भाइरस भ्याक्सिन कार्यक्रमका प्रमुख डा. मोनसेफ सलोईका अनुसार भ्याक्सिनले स्वीकृति पाएको २४ घण्टाभित्रै त्यसलाई भ्याक्सिनेसन सेन्टरमा पुर्‍याउने योजना छ।

पछिल्लो समय अमेरिकामा कोरोना संक्रमणको दर तिब्र रुपमा बढ्न थालेपछि भ्याक्सिनलाई प्राथमिकतामा राखिएको छ । अमेरिकी सञ्चार माध्यमका अनुसार अमेरिकामा १ करोड २० लाख भन्दा धेरै मानिसहरुमा कोरोना संक्रमण देखिएको छ । साथै, मृत्यु हुनेको संख्या २ लाख ५५ हजार नाघिसकेको छ।

औषधि कम्पनी फाइजर र बायोएनटेकले कोरोना भ्याक्सिनको आपतकालीन स्वीकृतिका लागि अमेरिकामा निवेदन दिएका छन्। आफ्नो कम्पनीले तयार गरेको भ्याक्सिनले ६५ वर्षभन्दा बढी उमेरका मानिसमा ९४ प्रतिशत काम गरेको उसको दाबी छ। २०२० मा ५ करोड र २०२१ मा १ अर्बं ३ करोड डोज भ्याक्सिन तयार गर्ने फाइजरले बताएको छ। एकजनाले कोरोनाको दुई डोज भ्याक्सिन लिनुपर्ने हुन्छ।

अमेरिकामा भ्याक्सिनको स्वीकृतिका लागि १० डिसेम्बरमा खाद्य एवं औषधि प्रशासन (एफडीए) को बैठक बस्दैछ। सन् २०२१ मे सम्ममा अमेरिकाको ७० प्रतिशत मानिसलाई भ्याक्सिन दिइने योजना रहेको बताईएको छ । (एजेन्सी)