युट्युब ट्रेन्डिङको टप १० मा तीनवटा नेपाली सिनेमा

काठमाडौं । फिल्म ‘प्रसाद’, ‘साइँली’ र ‘ए मेरो हजुर–३’ युट्युब ट्रेन्डिङको टप १० भित्र परेका छन् । कोरोना भाइरसको महामारीका कारण आठ महिनादेखि राम्रो फिल्म हेर्न नपाएका र दर्शकले पनि लामो समयदेखि प्रतिक्षा गरेका कारण युट्युवमा रिलिज भएको २४ घण्टा नवित्दै यी तिनै फिल्म ट्रेन्डिङमा पर्न र हालसम्म टिकिरहन सफल भएका हुन् ।

५ मंसिर अर्थात् गएको शुक्रबारका दिन युट्युबमा रिलिज गरिएको ‘प्रसाद’ ट्रेन्डिङ एकमा पर्न सफल भएको छ । विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेतको मुख्य भूमिका रहेको छ । दिनेश राउतले निर्देशन गरेको यस फिल्ममा निःसन्तान दम्पति र उनीहरुको जीवनमा आइपर्ने समस्या देखाइएको छ । हालसम्म फिल्मलाई १७ लाखभन्दा बढीले हेरिसकेका छन् ।

त्यस्तै, २६ कात्तिकमा रामबाबु गुरुङले निर्देशन गरेको फिल्म ‘साइँली’ युट्युबमा रिलिज भएको थियो । ट्रेन्डिङ नम्बर पाँचमा रहेको ‘साइँली’मा दयाहाङ राई, गौरव पहारी र मेनुका प्रधानको मुख्य भूमिका रहेको छ । माया प्रेम, परिवारमा गरिबीले उत्पन्न हुने समस्या देखाइएको फिल्मलाई हालसम्म ३९ लाखभन्दा बढीले हेरिसकेका छन् ।

त्यस्तै, २० कात्तिकमा सार्वजनिक गरिएको फिल्म ‘ए मेरो हजुर–३’ ट्रेन्डिङ सातमा रहेको छ । यसअघि यो सिनेमा झण्डै २ हप्तासम्म ट्रेन्डिङ एक मा रहेको थियो । झरना थापा निर्देशित यस फिल्ममा अनमोल केसी, सुहाना थापा र सलोन बस्नेतको मुख्य भूमिका रहेको छ । एक सेलिब्रेटी र फ्यानबीचको प्रेम मुख्य कथाबस्तु रहेको यो सिनमा १ करोड भ्युजको नजिक पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here