मिथिला चित्रकार रन्जुलाई राष्ट्रिय ललितकला पुरस्कार

काठमाडौं, ५ जेठ । चर्चित मिथिला चित्रकार रन्जु यादव राष्ट्रिय ललितकला पुरस्कार–२०७६ बाट पुरस्कृत भएकी छन् ।

जेठ २ गते बिहीबारदेखि सुरु भएको राष्ट्रिय ललितकला प्रदर्शनी–२०७६ को उद्घाटन समारोहमा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री इश्वर पोखरेलले चित्रकार यादवलाई सो पुरस्कारले सम्मानित गरेका हुन् ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्ने लोककला विधाअन्तर्गतको राष्ट्रिय ललितकला पुरस्कार चित्रकार यादवलाई दिइएको हो ।

राष्ट्रिय ललितकला प्रदर्शनी–२०७६ मा सहभागी ‘छोरी बचाउ, छोरी पठाउ’ शिर्षकको मिथिला चित्रलाई उत्कृष्ट ठहर गर्दै उनलाई ६० हजार रुपैयाँ राशिको उक्त पुरस्कार प्रदान गरिएको हो ।

एक दर्जनभन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनीमा सहभागी भइसकेकी यादवको गत चैत महिनामा काठमाडौंमा एकल चित्रकला प्रदर्शनी सम्पन्न भएको थियो ।

लोककला विधा अन्तर्गतकै विशेष पुरस्कार सिरहाका हरेराम यादव र कैलालीका मिठ्ठु थारु गरी दुई जनालाई प्रदान गरिएको छ ।

यस्तै, यस विधाअन्तर्गतकै प्रदेश विशेष पुरस्कार धनुषाकी रेमनी मण्डललाई प्रदान गरियो । विशेष पुरस्कार र प्रदेश पुरस्कारको राशी जनही २५ हजार रुपैयाँ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here