रेकर्ड नै रेकर्ड बनेको शेयर बजारमा साताभर साढे ३१ अर्बको कारोबार

काठमाडौं,१२ मंसिर । साताको पहिलो दिन सामान्य सुरुवात भएको शेयर बजारमा साताभर धेरै रकेर्ड बन्यो । कारोबारको साथसाथै ‘अल टाइम हाई’ दुवै रकेर्ड यसै साता तोडियो ।

यो साता कुल २ सय १२ कम्पनीको ७ करोड ५८ लाख ३८ हजार ८ सय ६४ कित्ता सेयर किनबेच हुँदा ३१ अर्ब ५४ करोड ३१ लाख ८८ हजार २ सय रुपैयाँको कारोबार भयो ।

यसका साथै साताको अन्तिमसम्म २५ खर्ब ३७ अर्ब ४४ करोड २२ लाख ८९ हजार रुपैयाँ बजार पुँजीकरण भएको छ ।

कारोबार र नेप्से अंक दुवैमा रकर्ड

यो साता शेयर बजारको कारोबार र नेप्से अंक दुवैमा रेकर्ड कायम भयो । यो साता एकैदिन सबैभन्दा धेरै ७ अर्ब ६१ करोड ३० लाख ३० हजार रुपैयाँसम्मको कारोबार भयो । यो अहिलेसम्म शेयर बजारमा एकैदिन भएको सबैभन्दा धेरै कारोबार हो ।

यसका साथै नेप्से अंकमा पनि नयाँ रकेर्ड बन्यो । यसअघि २०७३ साउन १२ गते १ हजार ८ सय ८१ अंकसम्म पुगेको शेयर बजार विहिवार १९२६ दशमलव ९२ को बिन्दुसम्म पुगेर नयाँ रेकर्ड बनाउदै कारोबार बन्द हुँदा घटेर १८९३.२४ अंकमा झरेर अडियो ।

यो साता ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक पनि २० दशमलव ११ अंकले बढेर ३६५ दशमलव १८ को बिन्दुमा पुग्यो ।

सातामा एकदिन मात्रै घट्यो शेयर बजार

शेयर बजार साताभरमा एकदिन मात्रै घट्यो । आइतवार ४ दशमलव ६९ अंकले बढेको बजारमा सोमवार सामान्य करेक्सन देखिएको थियो । त्यो दिन सूचक २ दशमलव ३८ अंकले घटेको थियो ।

मंगलवार २९ दशमलव ६८ अंकले बढेको बजार साताको चौथो दिन बुधवार सर्वाधिक ६४ दशमलव ७० अंकले बढेको बढ्यो । त्यस्तै, साताको अन्तिम दिन बिहीवार सूचक १८ दशमलव ४३ अंकले बढेर १८९३ दशमलव २५ को बिन्दुमा आइपुग्यो ।

होटलबाहेक सबै उपसमूह बढ्यो

यो साता कारोबारमा आएका उपसमुहहरु मध्ये होटलबाहेक सबै बढ्यो । साताको पहिलो दिनको तुलनामा सबैभन्दा बढी उत्पादन तथा प्रशोधन ६६१ दशमलव ५१ अंकले बढेको हो ।

त्यस्तै, निर्जीवन बिमा ३५३ दशमलव २२ अंकले बढ्यो भने व्यापार समूह २५१ दशमलव १४ अंक, अन्य समूह १५६ दशमलव शून्य १ अंक, जीवन बिमा १२२ दशमलव २४ अंक, लघुवित्त ९४ दशमलव ९ अंक, जलविद्युत् ५१ दशमलव १६ अंक, वित्त समूह १३ दशमलव ८८ अंक, म्युचुअल फन्ड शून्य दशमलव १६ अंक, बैंकिङ समूह ८५ दशमलव ६४ अंक र विकास बैंक ३१ दशमलव ८८ अंकले बढ्यो । साथै, होटल समूहको भने २ दशमलव ८९ अंकले घट्यो ।

साताभर भएको कारोबारमा सबैभन्दा धेरै कारोबार नेपाल पुनर्बिमा कम्पनीले गर्यो । कम्पनीले २ अर्ब ७ करोड ९९ लाख बढीको कारोबार गर्यो । त्यस्तै, दोस्रो नम्बरमा रहेको नेपाल दूरसञ्चार कम्पनीले १ अर्ब २९ करोड र तेस्रो नम्बरमा रहेको नेपाल बैंकको १ अर्ब २० करोड बढीको कारोबार गर्यो । यस साता सिभिल लघुवित्त वित्तीय संस्थाको ११ लाख ४१ हजार १ सय ४० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ ।

लगानीकर्ताको मनोविज्ञान सकारात्मक भएको कारण पनि सेयर बजारमा सकारात्मक प्रभाव परेको हो । यसैबीच बजारमा नाफा बुक गर्ने लगानीकर्ता पनि छन् । तर, नयाँ लगानीकर्ता पनि भित्रिएका कारण बजारमा सन्तुलन कायम भएको छ ।

पछिल्लो समय सरकार र अर्थमन्त्रीले पनि सेयर बजारलाई सकारात्मक रूपमा लिएका कारण लगानीकर्ताको मनोबल उच्च भएको सेयर लगानीकर्ताको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here