१० अर्ब पुँजीको पुनर्बीमा कम्पनीको बजार पुँजीकरण ५ महिनामै एक खर्ब ७५ अर्ब पुग्यो

काठमाडौं, १९ मंसिर । पछिल्लो समय नेपाल स्टक एक्सचेन्जको शेयर कारोबारमा नयाँ रेकर्डको सिलसिला कायम छ । जसमा समग्र नेप्से परिसूचक सहित छुट्टाछुट्टै कम्पनीले पनि नयाँ रेकर्ड बनाउन थालेका छन् ।

सोही क्रममा बिहिवार नेपाल पुनर्बीमा कम्पनीले एकैदिन १ अर्ब ११ करोड रुपैयाँको कारोबार गर्यो । एकै दिन खुद्रे कारोबारबाटै एउटै कम्पनीको यति धेरै रकमको सेयर किनबेच भएको यो सम्भवतः पहिलो हो । यसअघि ‘ब्लक’ ठूला कारोबारमा एउटै कम्पनीको अर्ब रुपैयाँ भन्दा धेरै रकमको कारोबार भएको थियो ।

२०७७ साल असार १५ गते सोमवार नेप्सेमा सूचिकृत भई कारोबार सुरु गरेको हो । यो कम्पनीको पुँजी १० करोड रुपैयाँ छ । पुनर्बीमा कम्पनीको सेयर मूल्य पछिल्लो ५ महिनामा धेरै बढिसकेको छ ।

यो कम्पनीको सेयरमा लगानी गरेर लगानीकर्ताले ठूलो मुनाफा सुरक्षित गरिसकेका छन् । सोही क्रममा हाल यो कम्पनीको बजार पुँजीकरण एक खर्ब ७५ अर्ब ८० करोड भन्दा बढि छ ।

नेप्सेमा पटक पटक सकारात्मक सर्किट लाग्दै अघि बढेको नेपाल पुनर्बीमा कम्पनीको शेयर बिहिवार भने २३ रुपैयाँले घट्दै प्रतिकित्ता १ हजार ७ सय ३५ रुपैयाँमा कारोबार भयो । सो आधारमा कम्पनीको बजार पुँजिकरण एक खर्ब ७५ अर्ब ८० करोड रुपैयाँ पुगेको छ ।

१५ करोड कित्ता शेयर सहित नेपाल टेलिकम बजार पुँजिकरणमा सबैभन्दा अगाडि छ । टेलिकमको एक खर्ब ९२ अर्ब ७५ करोड रुपैयाँ बजार मूल्याङ्कन छ ।

नेप्सेको बजार पूँजीकरणमा उत्कृष्ट १० कम्पनीहरुमा नेपाल पुर्नबीमा कम्पनीको सेयरको मूल्य बृद्धिदर १ सय ६६ प्रतिशत र नेपाल दुर सञ्चार कम्पनी सेयरको मूल्य बृद्धिदर ६६ प्रतिशत रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here