मध्यपहाडी लाेकमार्गमा अप्टिकल फाईबर बिछ्याउन सुरु, प्रधानमन्त्रीले गरे उद्घाटन

काठमाडौं, ६ जेठ । देशभर सूचना र प्रविधिको वृहत सञ्जाल निर्माण गर्ने उद्देश्यले मध्यपहाडी लोकमार्गमा अप्टिकल फाईबर बिछ्याउने कार्यको सुरुवात गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार धादिङको गल्छीमा नेपाल टेलिकमले विछ्याउन लागेको अप्टिकल फाइबरको उद्घाटन गरे ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आगामी वर्षको बजेट प्रस्तुत भएपछि देशले विकासको गति समात्ने दाबी गरे ।

उनले आगामी बजेटले देश विकासको गियर परिवर्तन गर्ने समेत बताए ।

डिजिटल नेपालको आधार निर्माण गर्ने योजनाको साथ मध्यपहाडी लोकमार्गमा पाँचथरको चिवा भञ्ज्याङ देखी बैतडीसम्म दुई वर्षभित्र अप्टिकल फाइबर विस्तार गर्ने लक्ष्य रहेको छ ।

जसमध्ये नेपाल टेलिकमले बिछ्याउने जिम्मा पाएको खण्डमा पर्ने गल्छीमा प्रधानमन्त्रीले बेल्चा चलाएर उद्घाटन गरेका हुन् ।

सिन्धुलीको खुर्कोट, धनकुटाको हिले र धादिङ्गको गल्छीमा सोमबार एकैसाथ फाईबर बिछ्याउने कार्यको सुरुवात गरिएको छ ।

टेलिकमले मध्यपहाडी लोकमार्गको पाँचथरको चिवाभञ्ज्याङदेखि गोरखाको आरुघाटसम्मको २ हजार १ सय ७९ किलोमिटर फाईबर बिछ्याउने जिम्मा पाएको छ ।

त्यस्तै गण्डकी प्रदेश र प्रदेश ५ मा युटिएलले जिम्मा पाएको छ भने कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा स्मार्ट टेलिकमले जिम्मा पाएको छ ।

सरकारको हरेक जिल्लाहरुमा इन्टरनेटको पहुँच पुर्याउने योजना अनुसार अप्टिकल फाइबर बिछ्याउन नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषअन्तर्गत करिब नौं अर्ब रुपैयाँ लगानी गर्नेछ ।

टेलिकमले १, २ र ३ प्रदेशको २ हजार १ सय ७९ किलोमिटर खण्डमा फाइबर बिछ्याउने जिम्मा ४ अर्ब ८८ करोड रुपैयाँमा पाएको थियो ।

अप्टिकल फाईबर विस्तार भएपछि ३२ जिल्लाको सदरमुकाममा उच्च गतिको ब्याण्डविथ इन्टरनेट चलाउन सकिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here