उधारो सहमति बोकेर पसिनाको मूल्य खोज्दै उखु किसान आन्दोलित

काठमाडौं, २८ मंसिर । एउटा हातले उधारो सहमति समाउँदै र अर्को हातले आँसु पुछ्दै काठमाडौं छोडेका उखु किसान फरि काठमाडौं फर्किएर आन्दोलनमा उत्रिएका छन् ।

एक वर्ष अघि पुष १८ गतेको सहमति अनुसार चिनी मिलहरुबाट उखुको भुक्तानी नपाएपछि पुस महीना शुरू हुँदै गर्दा काठमाडौंको माइतीघर मण्डलमा आएर आन्दोलन शुरु गरेका हुन् ।

आइतबार बिहानैदेखि उखु किसान संघर्ष समितिको आह्वानमा उनीहरूले गत वर्षको पुस १६ गते सरकारसँग भएको सम्झौता कार्यान्वयन गर्न माग गरेका छन् ।

किसानहरुले आफूहरुको बक्यौता रकम तत्काल दिइनुपर्ने तथा खेतीका लागि सरकारी तहबाट सहयोग हुनुपर्ने माग राखेका छन्।

माइतीघर मण्डलाबाट सुरु गरेर सिंहदरबार र बालुवाटार घेराउसम्मको आन्दोलन गर्ने उनीहरुले चेतावनी दिएका छन्।

गत वर्षपनि उखु किसानले काठमाडौंमा आएर प्रदर्शन गरेका थिए।त्यसपछि भुक्तानी दिने सम्बन्धमा उद्योग मन्त्रालय, उद्योगी र किसानबीच सहमति समेत भएको थियो।

आन्दोलनबाट एकथान लिखित प्रतिबद्धतामा उधारो सहमति गरेर र झिनो आशा बोकेर किसान घर फर्किएका थिए । सहमति भएको करिब एक वर्ष पुग्न लाग्दासम्म सबै किसानले भुक्तानी पाएका छैनन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here