नेप्से ४६.४३ अंकले बढ्यो, ४ अर्ब ८९ करोडको कारोबार

काठमाडौं, २८ मंसिर । साताको पहिलोदिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकले बढेको छ ।

आइतबार कारोबार शुरु भएदेखि नै उकालो लागेको नेप्से ४६.४३ अंकले बढेर २०१०.४५ विन्दुमा कायम भएको हो ।

यसदिन २०३ कम्पनीको ४ अर्ब ८९ करोड ९४ लाख ८४ हजार १ सय ३१ रुपैयाँको कारोबार भएको छ । ९० लाख ५० हजार १६ कित्ता सेयर किनबेच भएका छन् ।

कारोबारमा आएका १२ वटा समूहमध्ये ९ वटा समूहको परिसूचक उकालो लागेका छन् भने बाँकी ३ समूहको परिसूचक ओरालो लागेका छन् ।

आइतबार व्यापार, होटल र जलविद्युत समूहबाहेक सबै समूहको परिसूचकमा हरियाली छाउदा नेप्से परिसूचक उकालो लागेको हो । यसदिन जलविद्युत समूहका लगानीकर्ताहरुले १.६३ प्रतिशत, व्यापार समूहकाले १.५१ प्रतिशत र होटल समूहका लगानीकर्ताहरुले ०.२९ प्रतिशतले गुमाए ।

यता उत्पादन तथा प्रशोधन समूह र जीवन बीमा समूहका लगानीकर्ता भने आज मालामाल भएका छन् । उत्पादन तथा प्रशोधन समूहको परिसूचक ५.९९ प्रतिशत, जीवन बीमा समूहको ४.३७ प्रतिशत, बैंकिङ समूहको ३.१९ प्रतिशतले परिसूचक बृद्धि भएको छ ।

त्यस्तै, लघुवित्त समूहको परिसूचक १.८६ प्रतिशत, निर्जीबन बीमा समूहको परिसूचक १.८४ प्रतिशत, विकास बैंक समूहको १.७२ प्रतिशत, म्युचुअल फण्ड समूहको १.०१ प्रतिशत, अन्य समूहको ०.९२ प्रतिशत र वित्त समूहको परिसूचक ०.८२ प्रतिशतले बढेको हो ।

नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा धेरै ६७ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। कम्पनीको मूल्य ७ प्रतिशतले बढेर २०३५ रुपैयाँ कायम भएको छ।

कारोबारका आधारमा दोस्रोमा रहेको पुनर्बीमाको ३५ करोड ९४ लाख रुपैयाँको किनबेच भयो। सो कम्पनीको मूल्य १ रुपैयाँ घटेर प्रतिकित्ता १५४८ कायम भएको छ। हिमालय डिस्टिलरी, माथिल्लो तामाकोसी, चिलिमे हाइड्रोपावर पनि कारोबारका आधारमा अगाडि रहे।

माहुली लघुवित्त, साधना लघुवित्त, नारायणी डेभलपमेन्ट बैंक र हिमालय डिस्टलरीको मूल्य ९ प्रतिशतभन्दा धेरैले बढ्यो।

माथिल्लो तामाकोसीका लगानीकर्ताले ४.८ प्रतिशत मूल्य गुमाएका छ। सो कम्पनीको मूल्य ४५२ रुपैयाँ कायम भएको छ। त्यस्तै आँखुखोला जलविद्युतको मूल्य ३.५ प्रतिशतले घटेको छ भने अरुण काबेलीको मूल्य २. ८ प्रतिशतले घटेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here