एचआइभी संक्रमित श्रेष्ठले चढे सगरमाथा, विश्व कीर्तिमान कायम

काठमाडाैं, ८ जेठ । एचआइभी संक्रमित पूर्व राष्ट्रिय फुटबल खेलाडी गोपाल श्रेष्ठले सगरमाथाकाे सफल आरोहण गरी विश्व कीर्तिमान कायम गरेका छन् ।

सगरमाथा आधार शिविरमा रहेका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठका अनुसार श्रेष्ठ बुधबार बिहान ८:१५ मा सगरमाथाकाे चुचुराेमा पुगेका हुन् । उनी अहिले चुचुराेबाट फर्कने क्रममा रहेकाे बताइएकाे छ ।

५६ वर्षिय उनी २५ वर्षदेखि एचआइभी रोगसँग लडिरहेका छन् । उनकाे आरोहण अभियान ‘स्टेप अप क्याम्पेन: सेकेण्ड फेज’का संयाेजक पदमराज पहारीले अभियानमा साथ दिने सबैजनालाई अभियानका तर्फबाट धन्यवाद दिएका छन् ।

ड्रिमर्श डेस्टिनेशन ट्रेक्स एण्ड एक्सपिडिशन प्रा.लि.का प्रवन्ध निर्देशक तथा गाइड फुर्वा तेन्जिङ शेर्पाको नेतृत्व र गाइड तथा भिडियाेग्राफर दाकिपा शेर्पाको सहयाेगमा आरोही श्रेष्ठले सगरमाथाकाे सफल आरोहण गरेकाे समेत पहारीले बताए ।

सगरमाथा आरोहणमा जानुअघि काठमाडाैंमा गरीएकाे पत्रकार सम्मेलनमा उनले एचआइभी संक्रमितलाई समाजले हेर्ने दृष्टिकोण परिवर्तन गर्न र एचआइभी संक्रमितहरु कमजोर हुँदैनन् भनेर प्रमाणित गर्न सगरमाथा आरोहण गर्न लागेको बताएका थिए ।

काे हुन श्रेष्ठ ?

कुनै जमानाका चर्चित फुटबल खेलाडी समेत रहेका पोखराका श्रेष्ठ युवा अवस्थामा लागुपदार्थ दुव्र्यसनको कुलतमा फसे । सिरिञ्जमार्फत लागुपदार्थ लिने क्रममा उनी एचआइभी सङ्क्रमित भएका थिए ।

उनी अहिले लागुऔषध दुव्र्यसन विरुद्ध र एचआइभी संक्रमित मानिसहरुलाई समाजले गर्ने तिरस्कार र अपमान विरुद्ध जनचेना जगाउने काममा सक्रिय छन् ।

यसै अभियान स्वरुप उनी ‘स्टेप अफ क्याम्पेनः सेकेण्ड फेज’ नाममा सगरमाथा आरोहणमा गएका थिए ।

श्रेष्ठले पत्रकार सम्मेलनमा भनेका थिए, ‘एचआइभी संक्रमितहरु पनि अरु मानिस जत्तिकै सबल हुन्छन् भनेर समाजमा सकरात्मक सन्देश दिने लक्ष्यको साथ सगरमाथा आरोहण गर्दैछु ।’

सफल आरोहणसँगै विश्व कीर्तिमान राख्ने उनको सपना समेत साकार भएकाे छ । उनी भन्दा पहिले अहिलेसम्म कोही पनि एचआइभी संक्रमित मानिसले सगरमाथा सफल आरोहण गरेका छैनन् ।

श्रेष्ठले दाेस्राे प्रयासमा सगरमाथाकाे सफल आरोहण गरेका हुन् । उनी यस अघि वि.सं. २०७२ सालमै सगरमाथा आरोहणको लागि गएका थिए ।

त्यतिखेर सगरमाथा आरोहणको क्रममा उनको टोली सगरमाथाको आधार शिविर सम्म पुगेको थियो ।
वि.स. २०७२ को बैसाख १२ गतेको विनाशकारी भूकम्पपछि आएको हिम पहिरोमा परि उनी घाइते भए र पछि नेपाली सेनाले उनको उद्वार गरेको थियो ।

५६ वर्षिय श्रेष्ठले सन् २०१३ मा थोरङ ला पास (५४१७ मि.), सन् २०१४ मा आईसल्याण्ड पिक (६१८९ मि.) र सन् २०१६ मा भर्जिन पिक (६६४६ मि.) गरी तीनवटा हिमालहरुको सफल आरोहण गरिसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here