प्रसुति गृह र वीर अस्पतालका नयाँ भवन एक महिना भित्र सञ्चालनमा आउने

काठमाडौं, जेठ ८ । २०७२ साल वैशाखको भूकम्पबाट क्षति पुगेका थापाथलीस्थित परोपकार प्रसुति गृहको मुख्य भवन र वीर अस्पतालको एउटा भवनको पुनर्निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

दुवै भवन एक महिनाभित्र सञ्चालनमा आउने गरी पुनर्निर्माण भइरहेका छन् ।

दुवै भवनको पुनर्निर्माण जापान सरकारको आर्थिक सहयोगमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत पुनर्निर्माण गरिएको हो ।

निर्माणधिन प्रसुति गृहको अत्याधुनिक मुख्य भवनमा १९२ वटा शैया रहनेछन् । प्रसुति गृहको भवनमा इमरजेन्सी डेलिभरी रुम, बर्थिङ सेन्टर, पोष्ट अप्रेसन वार्ड लगायतका सेवा हुने पुनर्निर्माण प्राधिकरणले बताएको छ ।

प्रसुति गृहका प्रशासक रानु थापाले भवन पुनर्निर्माण कार्य करिब सकिएको भन्दै आन्तरिक रुपमा संरचना मिलाउने कार्य भइरहेको बताइन् ।

त्यस्तै वीर अस्पतालको नयाँ भवनमा ९४ शैया रहेका छन् । भवनमा कार्डियोलोजी वार्ड, ग्यास्ट्रोलोजी वार्ड, नेफ्रोलोजी वार्ड लगायत हुनेछन् ।

पुनर्निर्माण भइरहेका दुवै अस्पतालको निरीक्षणपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पपछिको पुनर्निर्माणमा अबलम्वन गरिएको अझ राम्रो र बलियो को अवधारणा अनुसार स्वास्थ्य संस्थाहरुको पुनर्निर्माण भइरहेको बताए ।

वीर अस्पतालका निर्देशक डा. केदारप्रसाद सेन्चुरीले भवनको पुनर्निर्माण कार्य अन्तिम चरणमा पुगेको भन्दै उद्घाटन पछि सञ्चालनमा ल्याइने बताए ।

जापान अन्तराष्ट्रिय सहयोग नियोग (जाइका)का पुनर्स्थापना तथा पुनर्लाभ कार्यक्रम अन्तर्गत पुनर्निर्माण भएका यी दुई अस्पताल भवनको लागत दुई अर्व १० करोड रुपैयाँ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here