काठमाडौं । कोभिड–१९ महामारीका कारण प्रतिबन्ध गरिएको नेपाल–भारत उडान बिहीबार (आज) देखि फेरि सुरु भएको छ । झण्डै नौ महिनापछि काठमाण्डौ–नयाँ दिल्ली उडान फेरि सञ्चालनमा आएको हो ।
नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) को न्यारोबडी ए ३२० जहाजले काठमाण्डौबाट एक सय ४१ यात्रु लिएर केहीबेरअघि दिल्ली उडेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । बिहान ११ः२० बजे उडेको उडान नं २०५१ जहाज दिल्लीबाट त्यहाँको समयअनुसार दिउँसो १ः५५ बजे काठमाण्डौ फर्किने उडान तालिका छ । एक सय ५७ यात्रु क्षमताको न्यारोबडी जहाजमा एक सय ३५ इकोनोमिक र ६ बिजनेस क्लासका यात्रु सवार रहेको निगमले जनाएको छ ।
नौ महिनापछि पहिलो उडानको अकुपेन्सी उत्साहवर्द्धक रहेको र दिल्ली गन्तव्यमा आउँदा दिनमा विगतमा झैँ प्रत्येक दिन दुई उडानको अपेक्षा गरिएको निगमकी प्रवक्ता करिश्मा श्रेष्ठले बताए ।
श्रेष्ठले भने, ‘भारतले आयोजना गरेको बब्बल अवधारणाबाट निगम निकै उत्साहित भएर उडानमा जुटेको छ, भारतका अन्य दुई गन्तव्यमा पनि विगतमा झैँ छिट्टै उडान हुने अपेक्षा गरिएको छ ।’
काठमाण्डौ–नयाँ दिल्ली गन्तव्यमा दुवै देशले दैनिक दुई उडान भर्नेछन् । दुवै पक्षका सरकारले ‘एअर ट्रान्सपोर्ट बब्बल संयन्त्र’ को अवधारणाअन्तर्गत काठमाण्डौ र दिल्लीबीच नियमित निर्धारित उडान फेरि सुरु गरिएको हो ।
कोभिड–१९ को सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल तथा भारत दुवै देशले अन्तर्राष्ट्रिय नियमित अन्तर्देशीय उडानमा प्रतिबन्ध लगाएकामा अहिले दुवै देशले अन्तर्राष्ट्रिय उडानमा गरिएको प्रतिबन्ध ‘एअर ट्रान्सपोर्ट बब्बल’ मार्फत खुकुलो बनाएकाले निगमले काठमाण्डौ–दिल्ली रुटमा अहिलेलाई दैनिक नियमित एक उडान गर्न लागिएको जनाएको छ ।
नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम र भारतको एअर इण्डियाले दैनिक उडान गर्नेछन् । नेपाल एअरलाइन्सले बन्दाबन्दीका कारण विसं २०७६ चैत १० (२३ मार्च २०२०) गतेदेखि काठमाण्डौ–दिल्ली उडान स्थगन भएको थियो । गएको भदौ १६ देखि नियमित अन्तर्राष्ट्रिय उडान सुरु भएको थियो । यी उडानमा नेपालतर्फ यात्रुले ७२ घण्टे पीसीआर रिपोर्ट पेस गर्नुपर्नेछ भने भारतबाट आउँदा त्यहाँ अनलाइन फाराम भर्नुपर्ने प्रावधान छ ।
कोभिड महामारीका कारण उडान स्थगन हुँदा यात्रुको आवागमन चापमा परेको प्रभावको अध्ययन गरी उडान सङ्ख्यामा समायोजन गर्न सकिने र त्यसको सूचना दिइने तथा नेपाल सरकार र भारत सरकारले निर्धारण गरेको स्वास्थ्यसम्बन्धी सर्तहरूको पूर्ण पालना गर्दै यात्रुलाई अधिकतम सुविधासहित सङ्क्रमणरहित गुणस्तरीय हवाई सेवा प्रदान गर्न प्रतिबद्ध रहेको निगमले जनाएको छ ।
निगमको अन्तर्राष्ट्रिय उडान गन्तव्यको व्यापारिक हिसाबले भारतका गन्तव्य निकै राम्रो मानिन्छ । लामो समय उडान नहुँदा निगमलाई आर्थिकरूपमा निकै घाटा भएको छ । सामान्य अवस्थामा काठमाण्डौ–दिल्ली दैनिक दुई उडान हुन्थ्यो । कोभिड महामारीकै बीच अहिले दैनिक एक उडान हुन लागेको हो ।
यो गन्तव्यको उडानमा यात्रुको मागबमोजिम निगम नेपाल एअरलाइन्सका वाइडबडी ए ३३० र वाइडबडी ए ३२० जहाजले आलोपालो गरेर उडान भर्नेछन् । निगमले भारतका तीनसहित सात देशका नौ गन्तव्यमा अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ । कम्पनीसँग अन्तर्राष्ट्रिय उडानका लागि दुई वाइडबडी र दुई थान न्यारोबडी जहाज छन् । (रासस)























