८ महिनामा खुले ६ लाख २३ हजार डिम्याट खाता, एक महिनामै तोडियो वर्षभरको रेकर्ड

काठमाडौं, ५ पुस । सेयर कारोबार गर्न हितग्राही (डिम्याट) खाताको संख्या २२ लाख नाघेको छ ।

सीडीएससीको तथ्यांक अनुसार मंसिर मसान्तसम्ममा हितग्राही (डिम्याट) खाताको संख्या २२ लाख ८८ हजार २ सय ७२ पुगेको छ ।

सेयर बजार आधुनिकीकरण हुँदै गर्दा यसमा संलग्न हुनेहरूको संख्या दिन प्रतिदिन बढ्दै गएको हो ।

जसको कारण आइपीओमा आवेदन दिनेको संख्यामा नयाँ रेकर्ड बनेको छ । प्रभु लाइफ इन्स्योरेन्सको आइपीओमा १० लाख ८२ हजार १४३ जनाले आवेदन दिएका छन् । यो नै आइपीओमा आवेदनको नयाँ रेकर्ड हो ।

एक वर्ष अघि सम्म अधिकतम ५ लाख आवेदन पर्ने गरेको थियो । यस अघि रिलायन्स लाइफ इन्स्योरेन्सको सेयरमा साढे ८ लाख हाराहारी आवेदन परेको थियो। तथ्यांक अनुसार बैशाखदेखि मंसिरसम्मको अवधिमा ६ लाख २३ हजार ५ सय ९ वटा डिम्याट खुलेका छन् ।

जुन गत वर्षभरि खोलिएको खाताभन्दा ३.४५ गुणा बढी हो । अघिल्लो (२०७६) वर्षभरि जम्मा १ लाख ८० हजार २ सय ९९ डिम्याट खाता खुलेको थियो ।

यसवर्ष भने एक महिना मै सो भन्दा बढी खाता खुलेका छन् । असोज महिनामा मात्रै १ लाख ९० हजार १ सय ८९ वटा डिम्याट खाता खुल्यो भने मंसिर महिनामा १ लाख २२ हजार ५ सय ४४ वटा डिम्याट खाता खुलेका छन् ।

खोलिएका खाता मध्ये ७१ हजार ४ सय २५ ले स्थायी ठेगाना काठमाडौँ भएको उल्लेख गरेका छन् ।

त्यस्तै झापाका ३१ हजार ५ सय २२, मोरङका २५ हजार ७ सय १९ , कास्कीका २२ हजार २८, र ललितपुरका २१ हजार ५ सय ३३ जनाले डिम्याट खाता खोलेका छन् ।

यस वर्ष सबै भन्दा कम मनाङका १९५ जना, डोल्पाका २६२ जना, मुगुका २८० जना, र मुस्ताङका ३ सयजनाले खाता खोलेका छन् ।

पछिल्लो समय अनलाईनबाटै डिम्याट खाता र मेरो सेयर सेवा लिन पाईने र कतिपय क्याप्टिलमा निःशुल्क खोल्न पाइने व्यावस्था भएसँगै खाता खोल्नेको संख्या बढेको छ ।

नेप्सेले सीडीएससीमार्फत २२ चैत्र २०७१ देखि डिम्याट सेयरको आंशिक कारोबार सुरु गरेकोमा ६ वैशाख २०७२ देखि सेयर पहिलो चरणमा सात कम्पनीको पूर्ण अभौतिक सेयर कारोबार थालेको थियो । १ माघ २०७२ देखि नेप्सेमा सबै कम्पनीहरूको डिम्याट सेयर मात्र कारोबार हुँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here