पाल्पामा विद्युत् प्रसारण लाइनको परीक्षण सफल

पाल्पा, ९ जेठ । (रासस) पाल्पाको निस्दी गाउँपालिका–५ मा केन्द्रीय विद्युत् प्रसारण लाइनको परीक्षण सफल भएको छ ।

रिङ्दीमा केन्द्रीय लाइनको बत्ती जडान गरी परीक्षण गर्ने कार्य सफल भएको हो । वडाध्यक्ष भीमबहादुर बयम्बुले बत्ती बालेर लाइनको परीक्षण गरे ।

उनले कामलाई जति सक्दो छिटो अगाडि बढाएर घरघरमा विद्युतकाे सेवा दिने बताए । विद्युत्को पहुँच नपुगेको यस गाउँमा यसै आर्थिक वर्षमा घरघरमा विद्युत् सेवा दिने गरी काम अगाडि बढाइने भएको साइट इञ्चार्ज अर्जुन गुरुङले बताए ।

टुकीको भरमा जीवन बिताउँदै आएका यहाँका नागरिक विद्युत् लाइनको काम शुरु हुने भएपछि खुशी भएका छन् । निस्दीका केही स्थानमा स्थानीय खोलाबाट लघु जलविद्युत् आयोजना सञ्चालन गरिए पनि पर्याप्त छैन ।

स्थानीयको जनश्रमदानमा लिफ्टिङ खानेपानी आयोजना

यसैगरी, पूर्वखोला गाउँपालिका–१ सिलुवा मस्लाङ्ग क्षेत्रमा स्थानीयवासीको जनश्रमदानमा लिफ्टिङ प्रणालीमार्फत खानेपानी आयोजना निर्माणको काम भइरहेको छ । वर्षाैंदेखि खानेपानीको चरम समस्या भोग्दै आएका यहाँका ८० घरपरिवारका स्थानीयवासीले श्रमदान गरेर आयोजना निर्माणका काम गरिरहेका छन् ।

हालसम्म यहाँका एक घरबाट १२ जना गरी ९६० जना उपभोक्ताले जनश्रमदान गरिसकेको उपभोक्ता समितिका अध्यक्ष ताराबहादुर नेपालीले बताए । ‘काम अहिलेसम्म ६० प्रतिशत जति सम्पन्न भएकाले अझै आठ सयको हाराहारीमा जनश्रमदान लाग्नेछ, उपभोक्ताहरु खुशी भएर जनमश्रमदानमा जुट्नुभएको छ’, उनले भने ।

काम तीव्र गतिमा अगाडि बढीरहेको छ, आउँदो दशैँसम्ममा आयोजनाको काम सम्पन्न गरी घरघरमा धारामा पानी पुर्याउने लक्ष्यका साथ निर्माण कार्यमा अगाडि बढेको उनले बताय । यहाँका स्थानीयवासीले जनश्रमदान मात्र नभई आयोजना निर्माणका लागि प्रतिघर रु पाँच हजार रकमसमेत सहयोग गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here