संयमतापूर्वक निर्णय लिएर मुलुकलाई स्थिरतातर्फ लैजान निजी क्षेत्रको आग्रह

काठमाडौं, ८ पुस । निजी क्षेत्रले संयमतापूर्वक निर्णय लिन प्रमुख राजनीतिक दलहरूलाई अपिल गरेका छन् ।

मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमप्रति निजी क्षेत्रका प्रतिनिधि संस्थाहरू नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघको गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।

राजनीतिक स्थिरताबाट मात्र नीतिगत स्थिरता आउने, नयाँ–नयाँ उद्योग, व्यवसाय फस्टाउने, रोजगारी सिर्जना हुने, नयाँ लगानी आकर्षण हुने र समग्रमा अर्थतन्त्रले गतिलिन सक्ने यथार्थतालाई कसैले पनि भुल्न नहुने संयुक्त विज्ञप्तिमा जनाइएको छ ।

‘विश्वव्याधी कोभिड १९ का कारण यसै त मुलुक आक्रान्त भई अर्थतन्त्रमा गम्भीर असर परिरहेका बेला पछिल्लो समय उब्जिएको राजनीतिक समस्याबाट उत्पन्न हुन सक्ने अस्थिरताको परिणाम थप गम्भीर हुनेतर्फ निजी क्षेत्र चिन्तित छ,’ संयुक्त विज्ञप्तिमा भनिएको छ ।

राजनीतिक स्थिरताको आर्थिक विकाससँग प्रत्यक्ष सम्बन्ध रहने विगतको अनुभव हेर्दा अहिलेको कठिन परिस्थितिमा सिर्जित घटनाक्रमले अन्योलता सिर्जना गर्नेमा निजी क्षेत्र सशंकित एवं चिन्तित भएको जनाएका छन् । भर्खरै चलायमान हुन थालेको मुलुकको अर्थतन्त्र र सर्वसाधारणको जीविकोपार्जनमा समेत गम्भीर असर पर्नेमा निजी क्षेत्रको चिन्ता रहेको जनाइएको छ ।

‘अतः नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघ संयुक्त रुपमा आजको यस विषम् परिस्थितिमा सम्पूर्ण राजनीतिक दलहरूसमक्ष सुझबुझ र संयमतापूर्वक निर्णय लिई मुलुकलाई स्थिरतातर्फ लैजाने कार्यमा गम्भीर हुन आग्रह गर्छ,’ विज्ञप्तिमा भनिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here