काठमाडौं, ९ पुस । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको आइपीओ शुक्रबार बाँडफाँड हुने भएको छ।
धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडको काठमाडौं नक्सालस्थित नारायणचौमा रहेको कार्यालयमा बिहान ११ बजे आइपीओ बाँडफाँड हुन लागेको हो ।
मागभन्दा बढी आवेदन परेका कारण यो आइपीओको बाँडफाँड पनि गोलाप्रथाबाट हुनेछ। कम्पनीले पुस २९ गतेदेखि ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आइपीओ निष्काशन गरेको थियो ।
जसमध्ये ३ लाख कित्ता कम्पनीको कर्मचारी र ३ लाख कित्ता सामूहिक लगानीकोषका लागि छुट्याइएको थियो भने ५४ लाख कित्ताका लागि सर्वसाधरणका लागि छुट्याइएको छ ।
कम्पनीको आइपीओमा १० लाख ८२ हजार १४१ आवेदकले २ करोड ९२ लाख ८७ हजार ७१० कित्ताका लागि आवेदन दिएका छन् । यो मागको साढे ५ गुणा बढी हो।
मागभन्दा साढे ५ गुण बढी आवेदन परेपछि ५ लाख ४० हजार व्यक्तिले १०/१० कित्ता सेयर पाउनेछन् भने करिब ५० प्रतिशत आवेदकको हात खाली हुने भएको छ । हाल कम्पनीमा चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ भने आइपीओपछि २ अर्ब पुग्नेछ ।




















