ब्रोकर कमिसन घट्यो, अब कतिको कारोबार गर्दा कति लाग्छ ?

काठमाडौं, १० पुस । नेपाल धितोपत्र बोर्डले ब्रोकर कसिमन घटाएको छ । ब्रोर्ड स्रोतका अनुसार आइतबारदेखि कार्यान्वयन हुने गरी ब्रोकर कमिसन ३३ प्रतिशतले घटाइएको हो ।

पहिलेदेखि नै सेयर ब्रोकरहरूले ब्रोकर कमिशन घटाउन माग गर्दै आएका थिए।

लगानीकर्ताले यसअघि ५० हजार सम्मको कारोबारमा ०.६ प्रतिशत कमिसन तिर्नुपर्नेमा अब ०.४० प्रतिशतले तिरे हुने भएको छ। ५० हजारदेखि पाँच लाख रुपैयाँसम्मको कारोबारमा ०.५५ प्रतिशत तिर्नुपर्नेमा अब ०.३७ प्रतिशत तिर्नुपर्ने छ।

हाल ५ लाखदेखि २० लाखसम्मको कारोबारमा ०.५० प्रतिशत र २० लाखदेखि एक करोडसम्मको कारोबारमा ०.४५ प्रतिशत तिर्नुपर्ने व्यवस्था छ। यसलाई घटाएर सहज बनाइएको छ।

अबदेखि ५ लाख देखि २० लाख सम्मको लागि ०.३३ प्रतिशत र २० लाखदेखि करोडसम्मको कारोबारमा ०.३० प्रतिशत तिर्नु पर्ने व्यवस्था गरिएको छ।

करोड भन्दा माथिको कारोबारको हकमा अहिलेसम्म ०.४० प्रतिशत तिर्नुपर्ने थियो। अब ०.२७ प्रतिशत तिरे पुग्‍नेछ। लगानीकर्ताले तिर्ने एकमुष्ट कमिसनमध्ये नेपाल स्टक एक्सचेन्जले २० प्रतिशत र नेपाल धितोपत्र बोर्डले ०.६० प्रतिशत लिने व्यवस्था छ। बोर्डले लिने कमिसनमा भने कुनै समायोजना भएको छैन ।

साढे पाँच वर्षअघि २०७२ साल साउन ५ गतेको बोर्डले ब्रोकर कमिसन घटाएको थियो । सोहीअनुसार हालसम्म ५० हजार रुपैयाँसम्मको सेयर कारोबारमा ०.६ प्रतिशत, ५० हजारदेखि पाँच लाखसम्मको कारोबारमा ०.५५ प्रतिशत, पाँच लाखदेखि २० लाखसम्मको कारोबारमा ०.५० प्रतिशत, २० लाखदेखि एक करोडसम्मको कारोबारमा ०.४५ प्रतिशत र एक करोडभन्दा बढीको सेयर कारोबारमा ०.४० प्रतिशत ब्रोकर कमिसन लाग्ने व्यवस्था थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here