नेप्सेको तथ्यांक प्रयोग गर्न अब कसले कति तिर्नुपर्छ शुल्क ?

काठमाडौं, १३ पुस । नेपाल स्टक एक्सचेन्ज नेप्सेले तथ्यांक प्रयोग सम्बन्धि कार्यविधि लागु गरेको छ । नेप्सेले पुस १ गतेदेखि लागु हुने गरि नेप्सेको तथ्यांक प्रयोग सम्बन्धि कार्यविधि लागु गरेको हो।

यस संगै अब नेप्सेको एपीआई र अन्य तथ्यांक प्रयोगको लागि निवेदन दिई अनुमति लिनु पर्ने छ । साथै नेप्सेले तोकेको शुल्क समेत बुझाई तथ्यांक प्रयोगको लागि सम्झौता समेत गर्नु पर्ने भएको छ ।

नेप्सेले तथ्यांक प्रयोग गर्नेहरुलाई ५ भागमा वर्गीकरण गरी छुट्टाछुट्टै शुल्क तोकेको हो । यो कार्यविधि लागू भएसँगै अब नेप्सेका विभिन्न तथ्यांकहरु प्रयोग गर्नेले निश्चित शुल्क तिर्नुपर्नेछ ।

नेप्सेको तथ्यांक प्रयोग गरे बापत इन्भेष्टमेन्ट कम्पनी, वित्तीय विश्लेषक, तथ्यांक वितरण र वित्तीय औजार विकासकर्ता आदिको व्यापारिक तथा पुनः वितरणको प्रयोजनका निमित्त, संचार माध्यमले समाचार प्रयोजनका लागि, गैर व्यापारिक शैक्षिक तथा अनुसन्धानात्मक प्रयोगका लागि, विदेशी कम्पनी तथा व्यक्तिले शुल्क तिर्नु पर्ने भएको छ ।

प्रयोजन अनुसार नेप्सेले फ्लोरसिटदेखि मार्केट डेप्थ हुँदै, लाइभ ट्रेडिङ डेटा, फ्लोरसिट, कर्पोरेट इन्फरमेसन, कर्पोरेट एक्सन लगायतका लागि फरक–फरक शुल्क तोकेको छ । संचारमाध्यमहरुले रियलटाइम सबै खालका डेटाका लागि मासिक १० हजार रुपैयाँसम्म तिर्नुपर्नेछ ।

यस्तै, गैरव्यापारिक शैक्षिक तथा अनुसन्धानात्मक प्रयोगका लागि न्यूनतम मासिक ५ हजारदेखि १ लाखसम्म, तथ्यांक वितरण र वित्तीय औजार विकासकर्ताले १ लाख रुपैयाँसम्म शुल्क तिर्नुपर्नेछ ।

यहाँ क्लिक गरेर कार्यविधि र तथ्यांक प्रयोग गर्न लाग्ने शुल्क हेर्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here