‘लोडसेडिङ गर्नुपर्ने अवस्था छैन, न्यूनीकरण र निराकरण गर्न प्राधिकरण सक्षम छ’

काठमाडौं, १७ पुस । नेपाल विद्युत प्राधिकरणले फेरि लोडसेडिङ गर्नुपर्ने अवस्था नआएको बताएको छ ।

उर्जा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा नेपाल विद्युत् प्राधिकरणका निमित्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिरकणले विगत ३ वर्षअघि नै लोडसेडिङ अन्त्य गरिसकेको, फेरि लोडसेडिङ गर्नुपर्ने अवस्था नभएको प्रष्ट पारेका हुन् ।

विद्युतका उपभोक्ताहरूको मागभन्दा आपूर्ति कम भएको अवस्थामा मात्र लोडसेडिंग गर्नुपर्ने बाध्यता रहने उनको भनाई थियो ।

केही दिन यता विभिन्न मिडिया तथा अनलाइन पत्रिकाहरूमा बत्ती झ्याप्प झ्याप्प गइरहेको वा अघोषित सेडिङ शुरू भएको, विद्युत आपूर्ति व्यवस्थापन गर्न नसकेको भनी प्रकाशित समाचारप्रति प्राधिकरणले गम्भीर ध्यानकर्षण भएको जनाएको छ ।

छोटो समयलाई विद्युत आपूर्तिमा अवरोध हुन गएको व्योहोरा आम विद्युत उपभोक्ता, मिडियाकर्मी, पत्रकार र सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध पनि गरेको छ ।

विभिन्न कारणले विद्युतका पोलहरू सार्न, ट्रान्सर्फमर प्रतिस्थापन गर्न, वितरण प्रणालीका पुराना संरचनाहरू मर्मत संभार तथा बदली गर्ने काम सकेर विद्युत आपूर्ति सूचारु गर्ने गरिएको प्राधिकरणको दावी छ ।

राष्ट्रिय विद्युत प्रणालीमा भारवहन क्षमता भन्दा बढी विद्युत प्रवाह हुँदा केही समय विद्युत प्रसारण तथा आपूर्तिमा भएको अवरोध लोडसेडिङ हैन ।

तथापी त्यस्तो अवरोध न्यूनीकरण र निराकरण गर्न प्राधिकरण सक्षम छ र सदैव प्रयासरत रहने शक्यको भनाई थियो । पुस १३ र १४ गते राष्ट्रिय विद्युत प्रणालीमा केही समय आएको अवरोधले प्राविधिक समस्या आएको शक्यले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here