शिवपुरी हाइकिङ जाने योजनामा हुनुहुन्छ ? सरकारले तोक्यो नयाँ प्रवेश शुल्क

११ जेठ, काठमाडौं । शिवपुरी नागार्जुन काठमाडौं उपत्यकाबासीका लागि लोकप्रिय हाइकिङ रुट हो । काठमाडौंबाट नजिकका हाइकिङ रुटमध्ये सबैभन्दा व्यस्त यस रुटमा हाइकिङबाहेक साइक्लिङ, जंगल सफारी, विभिन्न प्रकारका खेल, रक क्लाइमिङजस्ता गतिविधि हुने गर्छन् । तर, यसका लागि राष्ट्रिय निकुन्जबाट अनुमति लिनुपर्छ । त्यसपछि निश्चित शुल्क तिर्नुपर्छ । अनुमति नलिई निकुन्ज प्रवेश गरेको व्यक्तिलाई जंगली जनावर, दूर्घटना वा आपत विपद परे सरकारले कुनै पनि प्रकारको क्षतिपूर्ति बेहोर्दैन । सरकारले शिवपुरी नागार्जुन राष्ट्रिय निकुन्ज नियमावली, २०७६ ल्याएको छ । नियमावलीले निकुन्ज भित्र प्रवेश गर्न नयाँ शुल्कसमेत निर्धारण गरेको छ । नियमावली अनुसार अब राष्ट्रिय निकुन्ज भित्र प्रवेश गर्न प्रतिव्यक्ति १ सय शुल्क लाग्नेछ । सार्क मुलुकका नागरिकका लागि ६ सय र अन्य विदेशी नागरिकका लागि १ हजार शुल्क तोकिएको छ ।
नियमित सडक हुँदै यात्रा गर्ने सवारी चालकले पनि शुल्क लिएर मात्र निकुन्ज भित्रको बाटो प्रयोग गर्न सक्छन् । त्यसमा साना सवारीलाई ३० रुपैयाँ प्रवेश शुल्क तोकिएको छ भने हेवी वेट सवारीको शूल्क ७५ रुपैयाँ तोकिएको छ । तर, निकुन्जभित्र घुमफिरका लागि सवारी साधन लैजानेहरुले भने बढी शुल्क तोकिएको छ । यसमा मोटरसाइकल, स्कूटरका लागि १ सय ५०, निजी कार, जीप, भ्यान, ट्याक्सीका लागि ३ सय ५० र बस, मिनिबस, माइक्रोबसका लागि ५ सय शुल्क कायम गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here