जाडोमा कसरी गर्ने छालाको सुरक्षा, यसरी देखिनुहोस सुन्दर र स्वस्थ

सुस्मा महरा
वरिष्ठ ब्युटीसियन

काठमाडौं । जाडो महिनामा छालासम्बन्धी विभिन्न प्रकारका समस्याहरु देखा पर्छन् । विशेषगरी सुुख्खा छाला हुनेहरुका लागि त जाडो मन नपर्ने मौसम हो ।

छालाका लागि जाडो अनुकूल समय होइन । यस्तोमा बाहिरी वातावरण सुख्खा हुने भएकाले यसको सीधा असर छालामा पर्छ ।

जसले गर्दा जाडोमा छाला सुख्खा हुने, हात तथा खुट्टाहरु फुट्ने जस्ता समस्याहरु देखिन्छ । तर यो निरन्तर तापक्रम ओरालो लाग्दा जाडोमा पनि विभिन्न तरिका अपनाएर अनुहारको सुन्दरता निखार्न तथा आफूलाई स्वस्थ राख्न सकिन्छ ।

विशेषत जाडोमा शरिरको रोमछिद्र बन्द हुने हुँदा मन तातोपानीको प्रयोग गर्नुपर्छ ।

कसरी गर्ने छालाको सुरक्षा ?

जाडो मौसममा सबैभन्दा मुख्य समस्या भनेको छाला सुुख्खा हुनु नै हो । जसले गाला, हात तथा खुट्टाहरु फुट्ने समस्या निम्त्याउँछ । जाडो महिनामा छाला सुख्खा रहने भएको कारण यस्ता क्रिमहरु छनोट गर्दा चिल्लो पदार्थ भएको क्रिमको छनोट गर्ने सुुझाव दिन्छिन् काठमाडौं महल स्थित फेसियल हाउसकी प्रबन्ध निर्देशक सुस्मा महरा ।

छालामा देखिने समस्यामा के गर्ने ?

हात खुट्टामा देखिने समस्याको लागि क्रिम सबैभन्दा सुरक्षित मानिन्छ । व्यूटिसियन महराका अनुसार क्रिमले नै छालालाई सबैभन्दा धेरै सुरक्षित राख्छ ।घरबाहिर निस्कदा हात खुट्टा जस्ता अंगहरुको सुरक्षाको लागि यी अंगमा क्रिम लगाउनुपर्छ । यसले छालालाई नरम बनाइराख्नमा सहयोग गर्छ ।

नुहाउदाँ के कुरामा ध्यान दिने ?

निर्देशक सुस्मा महराका अनुसार छालासम्बन्धी समस्याहरु नुुहाउने प्रकृयाबाटै सुरु हुन्छ । ‘हामी जाडो मौसममा तातो पानीले नै नुहाउछौं, यो हाम्रो छालाहरुको लागि भने राम्रो होइन्’ उनले क्लाउड पत्रिकासँग भनिन्, ‘तातो पानीले हाम्रो छालामा भएको चिल्लो पदार्थ नष्ट गर्छ, जसले छाला सुख्खा बनाउँछ ।’

सकेसम्म तातो पानीको प्रयोग गर्नु हाम्रो छालाको लागि राम्रो नभएको कुरा पनि उनले बताईन् ।

‘जाडो महिनामा देखिने अर्को प्रमुख समस्या भनेको कपालमा पर्ने चायाँ हो’ उनले भनिन्, ‘चायाँको समस्या पनि हाम्रै कारणले आउने समस्या हो ।’

तातो पानीले नुहाउँदा पनि टाउकोमा चायाँ पर्ने जस्ता समस्या देखा पर्छ ।

यसका साथै चिसो महिनामा नुहाउँदै गर्दा जाडो हुँदा छिटो छिटो टाउको निखार्ने बाहानामा राम्रोसँग सावुन, स्याम्फू ननिखारीकन छोड्दा पनि चायाँ पर्छ । यस्तो अवस्थामा राम्रोसंग सावुन तथा स्याम्फूहरु निखार्दा पनि चायाँ पर्ने सम्भावना कम हुने कुरा निर्देशक महराले बताइन् ।

चिसो मौसममा बाहिर हिड्दा के गर्ने ?

चिसो मौसममा बाहिर हिड्दा शरीरका अंगहरुको सुरक्षामा विशेष ध्यानदिनुपर्छ । सम्भव भएसम्म शरीरका सम्पुर्ण अंगहरुमा ‘सन क्रिम’ लगाउनुपर्छ । यदी यो कुरा सम्भव नभएमा बाहिर देखिने हात, मुख, खुट्टा जस्ता अंगहरुमा भने अनिवार्य रुपमा क्रिम लगाउनुपर्छ ।

‘भित्री भन्दापनि बाहिर देखिने अंगहरुमा सुरक्षा चिसो मौसममा बिशेष रुपमा गर्नुपर्छ’ उनले भनिन्, ‘यसको लागि यी अंगहरुमा क्रिम लगाउनुका साथै टोपी, मोजा, पञ्जा लगाउनुपर्छ ।’

के-के खाने ?

चिसो मौसममा झोलीलो खानेकुराहरु भरपुर मात्रामा खानुपर्छ । यसले हाम्रो शरीरमा रक्तसञ्चारको मात्रालाई सन्तुलीत बनाइराख्नमा सहयोग गर्छ ।

‘चिसो मौसममा झोलीलो खानेकुराहरु धेरै मात्रामा खानुपर्छ, यसले रक्तसञ्चार प्रकृयामा सहयोग गर्छ’ उनले भनिन्, ‘यसका साथै फलफूल, हरियो सागपात जस्ता खानेकुराहरु पनि खाने र सन्तुलीत भोजन गर्नुपर्छ ।’

जाडोयाममा बढी चिसो हावा चल्दा शरीरमा भएको रगत र बोसोको मात्रा जम्ने हुँदा खानेकुरा सधै मनतातो बनाएर खाने गर्नुपर्दछ । जसले शरीरभित्र तातो भई बोसो र रगतको मात्रा पगाल्छ । साथै छालालाई सुख्खा हुनबाट पनि बचाउँछ ।

राती सुत्नेबेलामा २–३ गिलास मनतातो पानी पिउने गर्नुपर्दछ । त्यस्तै शरीर कम तातो हुने हुँदा पसिना अथवा पिसाबमा चिल्लो नआउने हुँदा समस्या हुन्छ । त्यसकारण जाडोमा खानेकुरामा चिल्लो पदार्थ कम राख्नुपर्छ ।

सुत्नुअघि के गर्ने ?

छालाको सुरक्षाको लागि यस्ता क्रिमहरुको प्रयोग गरेपछि राति सुत्नुअघि यी सबै प्रकारका क्रिमहरुलाई राम्रोसंग पखाल्नुपर्छ । ‘दिनभर प्रयोग गरेको क्रिमहरुलाई रातमा सुत्नुअघि राम्रोसंग मनतातो पानीले पखालेर मात्रै सुत्नुपर्छ’ उनले भनिन्, ‘यस्तो नगरेमा छालासम्बन्धी थप समस्याहरु बढ्ने सम्भावना धेरै हुन्छ ।’

मेकअप गर्नेले त झन अनिवार्य रुपमा यस्तो मेकअप पुछ्नुपर्ने कुरा निर्देशक महरा बताउँछिन् । ‘मेकअप गर्ने मानिसहरुले त झन अनिवार्य रुपमा नै आफ्नो मेकअप पुछेर मात्रै सुत्नुपर्छ’ उनले भनिन्, ‘यदी यस्तो नगरेमा अनुहारमा डण्डीफोर आउने, दागहरु बस्ने जस्ता समस्याहरु देखा पर्छन् ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here