सयमा ६० सवारी प्रदुषण जाँचमा फेल, ट्राफिक प्रहरीको कारवाहीको परिणाम देखिएन

काठमाडौं, १२ जेठ । धुवाँ र धुलोले आक्रान्त राजधानी वासीलाई पुराना र मर्मत नगरिएका सवारी साधनले झनै जोखिममा पारिरहेका छन् । पुरानाबस, ट्रक, पानी तथा तेल बोक्ने ट्यांकर तथा हलुका सवारी साधन समेत सवारी प्रदुषणको मापदण्ड मिचेर निर्वाध चलिरहेका छन् ।

गएको साता महानगरीय ट्राफिक प्रहरी महाशाखाले गरेको सवारी साधन प्रदुषण चेक जाँचमा ६१ प्रतिशतभन्दा बढी सवारी साधन फेल भएका छन् । ट्राफिक प्रहरीले गत साताको ३ देखि १० गतेसम्म गरेको सवारी प्रदुषण चेक जाँचमध्ये पाँच दिनको तथ्यांक हेर्दा कुनै दिनदुई तिहाइभन्दा बढी सवारी जाँचमा फेल भएको देखिन्छ ।

ती पाँचदिनमा न्यूरोड, कालीमाटी, भद्रकाली र कमलपोखरीमा जाँच गरिएका २ सय ५९ सवारीमध्ये १ सय ५९ फेल भएका थिए ।

जेठ ३ गते कमलपोखरीमा जाँच गरिएका ७१ सवारीमध्ये ४१ प्रदुषण मापदण्डमा फेल भएका थिए भने ५ गते कालीमाटीमा ५१ मध्ये २५ फेल भएका थिए । त्यसैगरी ६ गते ४४ मध्ये २९ र ९ गते ४६ मध्ये ३४ अनि १० गते ४७ मध्ये ३० फेल भएका थिए ।

ट्राफिक प्रहरीले दैनिक रुपमा प्रदुषण फैलाउने गाडीलाई कारवाही गरे पनि त्यसको परिणाम भने देखिएको छैन ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार प्रदुषण चेक जाँचमा फेल भएका उक्त सवारी साधनले यातायात व्यवस्था विभागमा गएर फेरी प्रदुषण जाँच गराइ हरियो स्टिकर लिनुपर्ने हुन्छ ।

तर, यदि हरियो स्टिकर भएको सवारी प्रदुषण चेकमा फेल भएमा कारवाही स्वरूप तीन हजार रुपैयाँ जरिवानाकाे व्यवस्था रहेको महाशाखाले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here