किन हट्यो कालीमाटी तरकारी बजारको पुरानो मूल्यसूची ?

काठमाडौं २७ पुस । सरकारी स्वामित्वको देशकै सबैभन्दा ठूलो तरकारी बजार कालीमाटी तरकारी तथा फलफूल विकास समितिको वेबसाइटबाट पुरानो मूल्यसूची हटेको छ ।

समितिको वेबसाइटबाट एकाएक पुरानो मूल्यसूची हट्नुलाई कतिपयले मूल्यवृद्धिलाई लुकाउनेको लागि गरिएको आशंका गरेका छन् । मूल्य सूचीनै हटाएपछि उपभोक्ताले पहिलाको मूल्यसँग आजको मूल्यको तुलना गर्न पाउने छैनन् ।

तरकारी बजारको मूल्यसूचीको तुलना गरेर सञ्चारमाध्यमहरूले भाउ घटे बढेको समाचार दिने गरेकोले तुलनात्मक मूल्य हटाएको उपभोक्ताहरुको बताउँछन् ।

तर, कालीमाटी तरकारी तथा फलफुल विकास समितिका उपसचिव तथा सूचना अधिकृत विनय श्रेष्ठले वेबसाइट ह्याक भएको कारण यस्तो समस्या आएको बताए ।

‘गत पुस ६ गते नै हाम्रो वेबसाइट ह्याक भयो । ह्याकरहरुले चलाउनै नमिल्ने गरी बिगारिदिए । त्यसपछि हामीले नयाँ वेबसाइट खोल्यौं ।’ श्रेष्ठले क्लाउड पत्रिकासँग भने, ‘हामी अझैपछि वेबसाइटको मर्मत सम्भारमा नै छौं, हामी छिट्टै वेबसाइटमा आएको समस्याको समाधान गर्छौं ।’

त्यसो त अब नयाँ वेबसाइटमा पुरानो मूल्यसूची भने समावेश नहुने सूचना अधिकारी श्रेष्ठले बताए ।

‘हाम्रो वेबसाइट पुरानो पनि भईसकेको थियो । अब नयाँ बेवसाइट आएको कारण पुरानो मूल्यसूची भने समावेश हुने छैन् र पहिलेको मूल्य र अहिलेको मूल्यको तुलना गर्ने सुविधा भने हामी दिन सक्दैनौं ।’ श्रेष्ठले भने ।

यसरी सुरु भएको थियो कालिकाटी तराकारी बजार

२०४३ साल असोज १५ गतेबाट तरकारी तथा फलफूलको बेचविखन गर्ने बजारका रुपमा सञ्चालनमा आएको कालिकाटी तरकारी तथा फलफुल बजार पछि सरकार र संयुक्त राष्ट्रसंघीय पूँजी विकास कोषको सहयोगमा संरचना निर्माण गरी व्यवस्थित बजार बनाइएको थियो ।

सरकारले विकास समिति ऐन २०१३ अनुसार २०५१ साल फागुन १ देखि कालिमाटी फलफूल तथा तरकारी थोक बजार विकास समिति जारी गरेर सञ्चालन गरेको थियो । पछि समितिको कार्यक्षेत्रलाई विस्तार गर्ने योजनाले २०५८ चैत १९ गते देखि कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति गठन गरेर सञ्चालन हुँदै आएको छ ।

सोही समितिले बालाजुमा २०६२ सालदेखि कृषि उपज बजार सञ्चालन गर्दै आएको छ भने चोभारमा २२ रोपनी क्षेत्रफलमा फलफूल तथा पुष्प बजार निर्माण भइरहेको छ भने नौबिसेमा ४.५ रोपनीमा संकलन केन्द्र स्थापनाको तयारी रहेको जनाइएको छ ।

कालिमाटी तरकारी तथा फलफूल बजार विकास समितिको अध्यक्ष कृषि मन्त्रालयका सचिव हुने व्यवस्था छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here