गणतन्त्र दिवसको बिदा काटेका भीभीआइपी—भीआइपीलाई पदकको लोभ, राष्ट्रपति, प्रधानमन्त्रीसहित ११०९ नेताले पदक थाप्दै

१३ जेठ, काठमाडौं । सरकारले १६ जेठमा संविधानसभा पदक प्रदान गर्दैछ । दुई वटा संविधानसभामा प्रतिनिधित्व गरेका व्यक्तिलाई उक्त पदक दिने सरकारको तयारी छ ।

सोहीकारण अहिले शक्तिमा रहेका सबैजसो भीभीआइपी—भीआइपीले यो पदक प्राप्त गर्दैछन् । अझ रमाइलो पक्ष के छ भने राष्ट्रपति निवासमा आयोजना हुने समारोहमा राष्ट्रपति विद्यादेवि भण्डारीले आफैबाट यो पदक थाप्नेछिन् ।

पदक दिने निर्णय गर्ने सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीसहित सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री उपेन्द्र यादव, पूर्वप्रधानमन्त्रीहरुसहित अधिकांश बहालवाला मन्त्रीले पनि यो पदक प्राप्त गर्नेछन् ।

सामान्यतया विदेशको अभ्यासमा आफैले आफैलाई पदक दिनुको साटो उक्त अवसरमा प्रेरणादायी भूमिका खेलेका सुरक्षाकर्मी, सामाजिक अभियन्ता, सरकारी कर्मचारी र सर्वसाधारणलाई पदक प्रदान गरी प्रोत्साहन दिने प्रचलन हुन्छ । नेपालमा भने यस पटक मन्त्री, सांसद र राजनीतिक दलका नेता गरी ११०९ जनाले यो पदक प्राप्त गर्नेछन् ।

यो पदक पहिलो संविधानसभा निर्वाचनका ६ सय १ र दोस्रो संविधान सभाका ६ सय १ गरी प्रतिनिधित्व गरेका सबै सभासदलाई दिन थालिएको हो । तर, कतिपय सभासद दोहोरिएका कारण संख्या अलि कम देखिएको हो ।

सभासद रहेपनि कुटनीतिक राहदानी काण्डमा परेका गायत्री साह र विश्वनाथप्साद यादव पदक प्राप्त गर्ने सूचिमा परेनन् ।

पूर्वमन्त्री जयप्रकाशप्रसाद गुप्ता पनि भ्रष्टाचार ठहर भई जेल चलान भएका कारण यस सूचिमा अटाएनन् । जनकपुर कम काण्डका दोषि ठहर सन्जयकुमार साह पनि पदक पाउने सूचिमा छैनन् । अपहरण काण्डमा मुछिएर जेल गएका श्यामसुन्दर गुप्ताको नाम पनि यहाँ अटाएन् ।

तर, अन्य विभिन्न काण्डमा मुछिएका सबै नेताहरु सम्मानित हुँदैछन् । सम्मानित हुने सूचिमा विप्लव माओवादीका नेताहरुसमेत समावेश छन् । यस समूहलाई अहिले सरकारले प्रतिवन्ध लगाएको छ ।

जनआन्दोलन २०६२,६३ को सफलतासँगै २०६४ सालको संविधानसभा निर्वाचनबाट निवार्चित संविधानसभाको पहिलो बैठकले १५ जेठ, २०६५ मा नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो ।

उक्त दिन २ सय ३८ वर्ष पुरानो शाहवंशीय शासनको औपचारिक अन्त्य भएको दिन मानिन्छ । त्यसपछि हरेक सरकारले यस दिनमा सार्वजनिक बिदा दिने गरेका थिए । तर, वर्तमान सरकारले यस दिनको महत्व देखेन र सार्वजनिक बिदा कटौती गर्यो ।

१५ जेठमा संविधान अनुसार बजेट आउनु पर्छ । त्यसकारण सरकारले पदक बितरणको कार्यक्रम भने १६ जेठमा सारेको छ । बिदाको महत्व नदेखेपनि नेताहरुमा सम्मान र पदकको भोक भने स्पष्ट झल्कन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here